२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

डिजिटल कुलत

लघुकथा

“छोरा! अलिकति यता आऊ त, यो औषधिको नाम पढिदेऊ,” ७० वर्षका बुवा रामबहादुरले आँखा धमिलो बनाउँदै छोरा विशाललाई बोलाए।

विशाल भने ओछ्यानमा ढल्केर मोबाइलको कि-प्याडमा औँला चलाइरहेको थियो।

टिकटकको म्युजिकसँगै उसको टाउको हल्लाई प्रष्टै देखिन्थ्यो। बुवाको आवाज सुनेर उसले झर्कँदै भन्यो, “धत बुवा! जुम गरेर हेर्नु न, म यहाँ ‘भाइरल भिडियो’ बनाउँदै छु क्या। फेरि मेरो रिच घट्छ!”

घरको एउटा कुनामा हजुरआमा खोकिरहेकी थिइन् तर विशाललाई त्यसको कुनै वास्ता थिएन। उसलाई त सामाजिक सञ्जालको लाइक, कमेन्ट र फलोअर्सको मात्र चिन्ता थियो।

राति अबेरसम्म अनलाइन गेममा झुम्मिने र बिहान ढिलो उठ्ने उसको दिनचर्या बनिसकेको थियो।

साथीहरूसँग भेट्दा पनि संवाद हुन्नथ्यो, सबै जना आआफ्नै मोबाइलका स्क्रिनमा व्यस्त हुन्थे।

एकदिन रामबहादुर अचानक छाती दुखेर भुइँमा ढले। हजुरआमा …गुहार बचाऊ भनेर चिच्याइन्।  

विशाल दौडेर आयो तर बुवालाई अस्पताल लैजानुको सट्टा उसले गोजीबाट मोबाइल निकाल्यो र भिडियो खिच्न थाल्यो, “हेर्नुस् साथीहरू, मेरो बुवालाई हृदयघात भयो। सबैले प्रार्थना गरिदिनुहोला! प्लिज लाइक र सेयर!”

छोराको यो कृत्य देखेर अर्धचेत अवस्थाका रामबहादुरको आँखाबाट आँसु खस्यो। हजुरआमाले रुँदै भनिन्, “ विशाल! तेरो बाउलाई छिटो अस्पताल लैजान जरुरी छ। तेरो फेसबुकको स्टोरी होइन। सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!”

हजुरआमाको तीतो कटाक्षले विशालका हातबाट मोबाइल खस्यो तर त्यतिबेलासम्म विशालका बुवा कृतिशेष भइसकेका थिए। हजुरआमा बुढेसकालको सहारा गुमेकोमा छाती पिटीपिटी रुँदै थिइन् तर विशाल न बोल्न सक्यो न उसले भुइँमा खसेको मोवाइल टिप्न नै सक्यो।

प्रकाशित: २४ श्रावण २०८३ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App