१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दैछन्। यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ। अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ।

गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन्। ‘जलाकी’ मा पनि उपासनाको मुख्य भूमिका रहनेछ। उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन्। ‘खुस्मा’ मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो। त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतिक्षामा रहने देखिन्छ।

सोमबार यो सिनेमाबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको छ। सिनेमाको सार्वजनिक पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्। यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुन (खबपु) रहेका छन्। अन्य कलाकारहरूको छनौट भैइरहेको निर्माण टिमले जानकारी दिएको छ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रूपमा मानिने ढुङ्गाले चिनेको स्तम्भ बुझाउँछ। कसैको सम्झना र मायाको प्रतिकको रूपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोस्राे र तेस्राे गरी तिन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ। सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।

निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकीय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो।

प्रकाशित: १९ श्रावण २०८२ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App