नेपाली भाषासाहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर दाङको घोराहीमा सांगीतिक साँझ आयोजना हुँदै छ।
राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आउँदाे २० गते शुक्रबार घोराहीस्थित कौशी ब्याङ्क्वेटमा ‘महाकवि देवकोटा सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम पारिवारिक वातावरणमा सञ्चालन गरिने परिषद्का अध्यक्ष यम रेग्मीले बताए।
कार्यक्रममा देवकोटाका सिर्जनासँगै नेपाली साहित्य, संगीत र संस्कृतिसँग सम्बन्धित सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्दाचार्य, डा. कृष्णराज डीसी, वरिष्ठ साहित्यकार नारायण नेपाल, गायक राजेन्द्र श्रेष्ठ, गोविन्द मधुर आचार्य, पिताम्बर रिजाल, अम्बिका रिजालका दमदार प्रस्तुति रहनेछ। साथै सो कार्यक्रममा साइग्रेस म्युजिकका भाइबहिनीहरूको पनि लक्ष्मीप्रसाद देवकोटाको बालकवितामा प्रस्तुति रहनेछ।
देवकोटाको साहित्यिक योगदानको स्मरण तथा सम्मान गर्दै उनका कालजयी सिर्जनालाई संगीतका माध्यमबाट नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमको सांगीतिक संयोजन साई ग्रेस म्युजिक एन्ड इभेन्ट्सले गर्नेछ।
गुरुकुल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक स्कुलले सह-संयोजन गर्ने कार्यक्रम छ।
विसं. १९६६ मा लक्ष्मीपूजामा काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटा नेपाली साहित्यका महाकवि हुन्। कविता, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यास लगायत साहित्यका विभिन्न विधामा कलम चलाएका उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन्।
‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ र ‘पागल’ उनका चर्चित सिर्जना हुन्। विशेषगरी देवकाेटाले ‘मुनामदन’ मार्फत मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा प्रस्तुत गरेका छन्। नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानका कारण उनलाई महाकविका रूपमा सम्मान गरिन्छ।
प्रकाशित: १९ कार्तिक २०८३ १२:२८ बिहीबार





-600x400.jpg)