चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन्।
हिट सिरिज ‘कबड्डी’ देखि ‘जारी’ सम्म यी दुई कलाकार सँगै हुन्छन्। यस्तै यी दुई अभिनेता सँगै रहेको सिनेमा हो, ‘वरिष्ठ बलराम’।
यो चलचित्रका अहिलेसम्मका प्रचार सामग्रीमा दुवै कलाकार उत्तिकै स्पेसमा देखिएका छन्। पोस्टर, मोसन पोस्टर र टिजरमा दयाहाङ र विजयले बराबर स्पेस पाएका छन्।
पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन्। एकले अर्कालाई देखिनसहेको अवस्थामा चित्रण गरिएको छ।
केही समयअघि ‘वरिष्ठ बलराम’ को गीत सार्वजनिक भएको थियो। ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर्यालको जोडी देखियो। यो गीतमा दयाहाङ देखिएनन्।
यसले यो सिनेमाको हिरो को हो भन्नेमा शंका उब्जाएको छ। लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ तर पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन्।
नाम सुन्दा बलराम मंगोल समुदायमा यो नाम (बलराम) कमै हुन्छ तर हुँदै नहुने पनि होइन। बलराम नाम क्षेत्री र ब्राह्मण समुदायमा धेरै राखिन्छ। त्यसैले यो चलचित्रको मुख्य पात्र अथवा नायक को हो भन्नेमा कौतुहल पैदा हुन थालेको छ।
जे होस् अक्सर सिनेमामा दयाहाङको साथीको भूमिकामा देखिने विजय ‘वरिष्ठ बलराम’ मा कस्तो भूमिकामा छन्, त्यो निर्माण पक्षले सस्पेन्स राखे पनि यी दुई बीचको संघर्ष र नोकझोक हुने कुरा भने लुकाएको छैन। त्यसैले यी दुईको नोकझोक हेर्न रमाइलो हुने पक्का छ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।
प्रकाशित: २२ आश्विन २०८२ १०:२६ बुधबार




