२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

दसैं

लघुकथा

‘यो दशै पनि किन आएको होला, बुढा! मलाई त अत्यास लागिराछ।’ एकाबिहानै बुढीले निराशा व्यक्त गरिन्।

‘एउटा भएको छोरो सात समुन्द्रपारि छ। बुहारी र नातिनातिना पनि शहरमा छन्। हामीलाई केको दशैं र?’ बुढाले झनै दुखेसो पोखे।

दशैको दिन न मिठोमसिनो ल्याए न त आवश्यक  सरसामान नै किने, छोराबुहारी सम्पर्कमा नहुँदा थप चिन्तामा थिए, उनीहरू।

‘तपाईले  डायल गरेको फोनको स्विच अफ गरिएको छ।’ बुढाको मोबाइलमा एक घन्टादेखि त्यही शब्द दोहोयाइरहेको थियो। बुढी पटुकाको छेउले आँसु पुछ्दै थिइन्।

पर बाटोमा कोही आउँदै गरेको देखेर उनीहरूका आँखाले त्यतै हेर्न थाले।

‘छोराबुहारी जस्तो पो देख्छु त, बुढा!’ बुढीले पावरवाला चस्मा लगाउँदै भनिन्।

‘उनीहरू के आउँथे र! कसैका आफन्त होलान् नि!’ बुढा चिन्ताले टोलाएका थिए।

‘बाबा ढोग गरें।’ एक्कासि छोराको आवाजले उनी झस्किए। आमाका हर्षका आँसु बर्र झरे। बुहारी र नातानातिनी पनि सँगै थिए।

बाबाले चिन्तित हुँदै भने, ‘बाबू! खबरै नगरी आइस् त अनि मोबाइल पनि अफ थियो।’ 

‘हजुरहरुलाई  सर्पराइज दिउँ भनेर अफ गरेको नि, बाबा! अब हामी आइसक्यौ, चिन्ता नलिनु।’ 

‘कति समयको छुट्टीमा आइस् त, बाबू! फर्किहाल्ने होला!’ उनले फेरि अर्को चिन्ता व्यक्त गरे।

‘त्यहाँको दु:ख अनि हजुरहरूको मायाले फर्केर आए बाबा! अब विदेश नजाने।’ छोराले नरम स्वरमा भन्यो।

‘हो, बाबा! अब नाति र नातिनी यहीं गाउँकै विद्यालयमा पढ्छन्। हामी खेतीपाती गरेर हजुरहरूसँगै बस्छौ।’ बुहारीले भनिन्।

बुढाको खुसीले सीमा नाघ्यो। उनले सानो नातिलाई  पिङ हाल्दै भने, ‘धन्य दुर्गा माता! तिम्रो आशीर्वादले यिनीहरू घर फर्किएका छन्। हाम्रो मनमा शान्ति मिल्यो।’

ए बुढी! पानी तताउन बसा त! त्यो, ठूलो चै खसी काट्नुपर्छ।’ बुढाले खोरबाट खसी निकाल्दै भने।

प्रकाशित: १७ आश्विन २०८२ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App