२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

उत्तरहरूको वर्तमान

निबन्ध

मनमा कहिलेकाहीं अन्योल छाउँछ, उत्तर नपाएर। समाज प्रश्नले बनेको हो कि उत्तरले? मान्छेलाई प्रश्नले मान्छे बनाउँछ कि उत्तरले? वर्तमान प्रश्न हो कि उत्तर? म प्रश्न हुँ कि उत्तर? प्रश्न जीवनले सोध्ने हो कि मृत्युले? उत्तर जीवनले दिन्छ कि मृत्युले? यस्ता अनगिन्ती प्रश्न उम्रिन्छन् मनको ब्याडमा। म अन्यमनस्क हुन्छु कहिले प्रश्नैप्रश्नले, कहिले उत्तरैउत्तरले।

मलाई सम्झना छ, एक साल गाउँमा मकै घोगाउने बेलामा ठुलो असिना आयो। फल्नै लागेको मकै सखाप पार्‍यो। त्यतिबेला बुढापाकाले भनेको उखान ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ झलझली सम्झिएँ। अधिकांश घरमा मकैको बिउ नै जोगिएन। यस परिस्थितिमा त्यहाँ कसैसँग प्रश्न थिएन। असिना यति नै बेला किन आयो? आउनु आउनु, दुई महिनाअघि आएको भए हुँदैनथ्यो र? फेरि यही पाखोमै पटकपटक असिना किन आउनुपरेको? यो पाखोले के अपराध गरेको छ र? यस्ता प्रश्न पनि कसैको मनमा उब्जँदैनथे। सबैको मनमा मात्र उत्तर थियो, सधैंका जस्तै रेडिमेड उत्तर - यसपालि यही लेखेको रहेछ। मलाई थाहा छैन, यो निराशावादी उत्तर हो वा जीवनप्रतिको स्वीकारभाव।

मलाई यत्ति थाहा छ - यो त्यस गाउँको विवश तथा स्वतः उत्तर हो। किनभने त्यहाँ यसलाई स्वीकारोक्ति गर्नुभन्दा अर्को विकल्प नै छैन। उत्तरको सबैभन्दा उत्तम विकल्प नै यही हो। त्यहाँ पूर्वीय दर्शनको भनाइ ‘जस्तो कर्म, उस्तै फल’ को मर्म मेल खाँदैनथ्यो। पूर्वीय दर्शनकै अर्को भनाइ ‘कर्म गर, फलको आश नगर’को मर्म सार्थक भएजस्तो लाग्थ्यो।

विगत प्रश्न हो, वर्तमान उत्तर हो। विगतले सोधेका प्रश्नले सही जवाफ पाएनन् भने ती प्रश्न पटकपटक उब्जिरहन्छन्। हामीले यो पनि भुल्नु हुँदैन कि आजको वर्तमान भोलिको प्रश्न पनि बन्न सक्छ। हामी यस्तो समयका नागरिक हौं, जहाँ उत्तर सर्वत्र छन्, प्रश्न विरलै भेटिन्छन्। मञ्चमा उत्तर, भाषणमा उत्तर, सामाजिक सञ्जालका स्टाटसमा उत्तर, चियापसलका बहसमा पनि उत्तरकै भिड तर यिनै उत्तरहरूको कोलाहलबिच समाज दिशाहीन छ, राजनीति अलमलिएको छ र नागरिक मन गहिरो असन्तोषले भरिएको छ। यसैले लाग्छ - समस्या उत्तर नपाउनु होइन, प्रश्न हराउनु हो।

उत्तर दिन हामी यति माहिर छौं कि अधिकांश उत्तर हाम्रो मनमस्तिष्कमा तयार छन्। युवा किन बिदेसिए? उत्तर– देशमा अवसर छैन। देशमा अवसर पाउने पनि त छन् नि? उत्तर– नेताका चाकडी गर्ने मान्छे हुन् ती। देश कसले बिगार्‍यो? उत्तर– नेताले बिगारे। सबै नेताले बिगारे त? उत्तर– होइन, पुराना नेताले बिगारे। यो नेताले त दलमा क्रान्ति ल्यायो नि? उत्तर– कहाँ ल्याउनु, विदेशी एजेन्ट हो। चुनावको मुखैमा नेताहरू मिले नि? उत्तर– उनीहरू कहाँ मिल्नु, विदेशीले पो मिलाइदिएका। हामी उत्तर दिन माहिर छौं। आजको नेपाली समाजमा हरेक प्रश्नको उत्तर पहिल्यै तयार छन्।

सबैभन्दा उल्लेख्य कुरा, हाम्रो रेडिमेट उत्तरको धार कस्तो छ? हाम्रो उत्तरको तरङ्ग सकारात्मक छ कि छैन? हाम्रो रेडिमेड उत्तर कति ऊर्जावान् छ? भन्ने हो। आजसम्म हाम्रो मनमस्तिष्कमा बनेका रेडिमेड उत्तरले सकारात्मक तरङ्ग पैदा गरे जस्तो लाग्दैन। हामी यति विवेकविहीन बनिसकेका छौं कि हामीले प्रश्नको उत्तर दिँदैनौं, आफ्नो आग्रहमा सहिद भएर सधैं उत्तर दिइरहन्छौं। हाम्रो मनमा कोही भगवान् बनेर बसेको छ, कोही राक्षस बनेर बसेको छ। मनको भगवान्ले जस्तोसुकै राक्षसी कर्म गरे पनि ऊ सधैं मनको राजा भइरहन्छ, मनको राक्षसले जतिसुकै देवत्वपूर्ण कर्म गरे पनि ऊ सधैं मनको शत्रु भइरहन्छ। हाम्रो मनोविज्ञानमा प्रश्न होइन, उत्तर तयार छ। हाम्रो मनोविज्ञानमा चुनाव होइन, नतिजा तयार छ।

विडम्बना, हामीले जीवनभर जति पनि प्रश्न गर्‍यौं, सबै बाह्य दुनियाकेन्द्रित गर्‍यौं। वर्तमानले दिने ओठेजवाफ पनि बाह्य दुनियामै अल्झिरहेको छ। हामीलाई उत्तर दिन भिडले निर्देशित गरिरह्यो, अरूलाई प्रभाव पार्ने बाह्य मनोविज्ञानले हाम्रो जिन्दगीको उत्तर दिइरह्यो। त्यसैले आजका प्रश्न र उत्तर दुवै बोक्रे बने, हलुका बने।

सबै प्रश्नको उत्तर दिनैपर्छ भन्ने पनि छैन। मौनता प्रायः शक्तिशाली उत्तर बनिरहन्छ। त्यसैले उत्तरमा आवाज नै चाहिँदैन। सत्य सधैं शब्दमा उतारिन सक्दैन। कतिपय प्रश्नहरू यति गहिरा हुन्छन् कि तिनीहरूको उत्तर बोल्दा सधैं अधुरो अनि फिका महसुस हुन्छ।

बोल्दाभन्दा नबोल्दा नै शक्तिशाली उत्तर प्रतीत हुन्छ। जीवनका केही उत्तर– दुःख, प्रेम, अनुभव, मृत्यु, त्यस्ता हुन्छन्, जसको वास्तविकता मौनमा मात्र प्रकट हुन्छ। बुद्धले बोधिवृक्षमुनि प्राप्त गरेको ज्ञान कुनै ठुलो भाषणबाट होइन, गहिरो मौन ध्यानबाट आएको थियो। कैयौं चर्का भाषणभन्दा बुद्धको मौन शान्तिले धेरै अर्थ राख्छ। उनको मौन शान्तिले कैयौं जटिल प्रश्नको दार्शनिक उत्तर दिइराखेको छ।

 उपनिषद्हरूले पनि ‘नेतिनेति’ भन्दै सत्यलाई शब्दभन्दा परको अनुभूति मानेका छन्। जब हामी कुनै सुन्दर दृश्य हेर्छौं, सूर्यास्त, हिमाल अथवा प्रियजनको अनुहार, त्यो क्षणमा हामी बोल्न सक्दैनौं। किनकि त्यहाँ शब्द साना हुन्छन्, अनुभूति विशाल। त्यसैले मौन उत्तर केवल नबोल्नु होइन, यो आत्मा र सत्यको मिलनविन्दु हो। जहाँ शब्द समाप्त हुन्छ, त्यहाँ दर्शन सुरु हुन्छ। मौनता शून्यता होइन, पूर्णता हो। त्यसैले कहिलेकाहीं सबैभन्दा प्रभावशाली उत्तर भनेकै मौन हुन्छ।

जब छोरो कमजोर भएर घर फर्कन्छ, मलाई बोल्नै मन लाग्दैन। छोराका अगाडि यस विषयमा ठुलो भाषण गर्ने आँट नै आउँदैन। त्यतिबेला बरु चुपचाप केही दार्शनिक चिन्तन लेख्न मन लाग्छ वा एकोहोरो झुलेर बस्न मन लाग्छ। यस्तो अवस्थामा छोरालाई भन्न मन लाग्छ - मेरो मौनता यो खाली पानाजस्तै हो बाबु, जुन पाना जति मलिलो भयो, त्यति अक्षर फल्छन्। यो पाना सम्भावनाको भण्डार हो। त्यसैले खालीपन, मौनता, एक्लोपन जीवनका गहिरा फाँट हुन्, जहाँ सम्भावना जीवित रहन्छन्। असफलता पनि त्यस्तै हो। असफलता अन्त्य होइन, अर्को सफलताको पदचाप हो।

देश मुटुमा राखेर परदेश जाने धेरै युवा चुपचाप बिदेसिन्छन्। नागरिकता त्यागेर देश छोड्ने धेरै युवा हल्लाखल्ला गर्दै बाहिरिन्छन्। देश मुटुमा सजाउँदै केही वर्षपछि फर्केका युवा आफ्नै भूमिमा कृषि, पशुपालन, व्यापार वा साना व्यवसाय गरेर थोरै आम्दानीमा पनि ठुलो मन बनाइराखेका हुन्छन्। यो हो युवाले दिएको मौन उत्तर - सफलता केवल पैसामा मात्र होइन, आत्मसम्मान, परिवारसँगको निकटता र आफ्नै माटोमा उभिन सक्नुमा छ।

धुलो लागेको स्मृति, खण्डहर बनेका सपना र थाकेका अनुहारको मौनतामा विगत लुकेको हुन्छ, प्रश्न बनेर। हलो जोतिराखेका हली दाइलाई उनले गरेको दुःखबारे प्रश्न गर्दा उत्तर आउँछ - जीवन भनेकै दुःख हो, काम गर्नुपर्छ। यही उत्तर स्वामी विवेकानन्दले दिएको भए दर्शन बन्थ्यो, जीवनदर्शन। हली दाइले दिएको उत्तर दुःखको सुस्केका बन्यो।

आमाले छोरीको हात समाउँदै विद्यालयको ढोकासम्म पुर्‍याउँछिन्। उनलाई दर्शन थाहा छैन, राजनीति थाहा छैन, इतिहास थाहा छैन। उनलाई यत्ति थाहा छ - मैले भोगेको अन्धकार छोरीले भोग्न नपरोस्। विगतले सोधेका प्रश्नमाथि आमाको मनको उत्तर हो यो।

विगतले धेरै प्रश्न सोधेको थियो, सबै प्रश्नको उत्तर वर्तमानले दिएको छैन। हिजो जघन्य हिंसाको सिकार हुनेहरूले प्रश्न सोधेका थिए– हिंसाको उत्तर कसले दिन्छ? विगतको यो सवालले आजसम्म उत्तर पाएको छैन। पढाउने बहानामा युद्धको विदेशी भुङ्ग्रोमा किन हेलिए विद्यार्थी? हिजोको प्रश्न हो यो। खेतबाट थकित भएर फर्केपछि एउटा किसान घरको आँगनमा मौन बस्छ। ऊ केही बोल्दैन, कसैलाई केही प्रश्न गर्दैन। तर उसको थकान, चाउरिएका हात अनि निरन्तरको परिश्रमले प्रश्न सोधिरहेको हुन्छ– यति श्रमपछि पनि किन जीवन उस्तै रह्यो?

हजुरबुबाले हलो जोतेर, आमाबुबाले घाँस–दाउरा गरेर उभ्याएको घर आज सुनसान छ। वर्तमान पुस्ता बिदेसिएको छ। घर उभिएको छ तर त्यसमा जीवन छैन, उत्सुकता छैन, उमङ्ग छैन। त्यो घरले प्रश्न गरिरहेका छ - के विकास भनेको मेरो रिक्तता हो? हजुरबुबाले जोत्ने खेत त्यहीं मरेतुल्य लमतन्न परेर बसेको छ। हजुरबुबा त अहिले हुनु हुन्न। नातिपुस्तालाई त्यो खेतले प्रश्न गरिरहेको छ– मेरो पेट चिरेर उब्जनी गर्नु र तिमीलाई तिम्री माताले पेट चिरेर जन्माउनु उस्तै होइन र? मेरो पेट चिर्दा तिमीले भविष्य देख्थ्यौ, आज तिमी किन मबाट यतिबिघ्न टाढियौ? तिमीलाई मेरो पीडा थाहा छ?

स्कुल छुट्टी भएपछि टालाको बल लिएर खेल्न जाने ठुलो चौर आज निरीह छ। दिनरात उफ्रने आँगन एक्लै टोलाइरेको छ। त्यो चौर अनि आँगनले सोधेजस्तो लाग्छ -यहाँ खेल्ने बालकहरू कहाँ छन्? देशमै छन् कि सात समुद्र पारि बसेर यो पाखो, यो चौर अनि यो आँगनलाई ‘बिचरा!’ भनिरहेका छन्?

हाम्रै आँखाअगाडि देशका धरोहरहरू ढले, न्यायको मन्दिर ढल्यो, गौतम बुद्धको प्रेमिल सिद्धान्त ढल्यो, सगरमाथाको मनको साख ढल्यो। यी सबैलाई म देशभक्त हुँ भन्नेहरूले नै ढाले। देशप्रेमको नारा लगाउँदै ढाले, देशको झन्डा ओढेर ढाले। यी सबै निकट भूतका प्रश्न हुन्। थाहा छैन -यी प्रश्नको उत्तर कुन वर्तमानले दिने हो।  

प्रकाशित: २ फाल्गुन २०८२ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App