१७ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा

पुस्तक

डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिक स्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।

यस पुस्तकले काठमाडौं उपत्यकामा अवस्थित मैतीदेवी मन्दिर क्षेत्रसँग सम्बन्धित मूर्त र अमूर्त दुवै प्रकारका सांस्कृतिक सम्पदालाई अध्ययन गरी पाठकसामु प्रस्तुत गरेको छ। नेपालको सांस्कृतिक धरोहरका रूपमा रहेको मैतीदेवी क्षेत्रलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले बुझ्न यो पुस्तक महत्त्वपूर्ण स्रोतका रूपमा रहेको छ।  

पुस्तकलाई चार मुख्य अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा परिचय प्रस्तुत गरिएको छ, जसमा अध्ययनको पृष्ठभूमि, उद्देश्य तथा विषयवस्तुको समग्र रूपरेखा प्रस्तुत छ। दोस्रो अध्यायमा शाक्त धर्म र मैतीदेवी मन्दिरको ऐतिहासिकता सम्बन्धी चर्चा गरिएको छ। यस अध्यायमा विशेष गरी शाक्त परम्परासँग मैतीदेवी मन्दिरको सम्बन्ध र यसको विकासक्रमलाई ऐतिहासिक दृष्टिले विश्लेषण गरिएको छ। प्रस्तुत तथ्यअनुसार मैतीदेवी पीठको स्थापना गुणकामदेवका पालामा भएको मानिन्छ भने अंशुवर्माको शासनकालमा यहाँ ढुंगाबाट सानो मन्दिर निर्माण गरिएको उल्लेख पाइन्छ। यसले मैतीदेवी क्षेत्रको प्राचीनता र ऐतिहासिक महत्त्वलाई स्पष्ट पार्छ।

तेस्रो अध्यायमा मैतीदेवी मन्दिर क्षेत्रको मूर्त सांस्कृतिक सम्पदाको विस्तृत चर्चा गरिएको छ। यस अन्तर्गत मन्दिरको वास्तुकला, मन्दिरमा रहेका तोरणहरू, टुँडाल र झल्लरहरू तथा मन्दिर परिसरमा स्थापना गरिएका प्रस्तर र ढलोटका सिंहहरूको कलात्मक र ऐतिहासिक पक्षको विश्लेषण गरिएको छ। साथै मन्दिर प्राङ्गणमा रहेका विभिन्न कलाकृतिहरू जस्तै - बेताल, मयूरकुण्ड तीर्थ, धातुका चैत्य तथा प्रस्तर चैत्यहरू, प्राचीन बुद्धको मूर्ति, शिवलिंग, महालक्ष्मीको प्रतिमा, ढुंगेधाराको अवशेष, भगीरथ आदिको तथ्यपूर्ण विवरण प्रस्तुत गरिएको छ। यी सम्पदाहरूले मैतीदेवी क्षेत्रको धार्मिक विविधता, कला र परम्परागत स्थापत्यकला झल्काउँछन्।

चौथो अध्यायमा मैतीदेवी क्षेत्रसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदाको चर्चा गरिएको छ। यस अन्तर्गत मन्दिरसँग जोडिएका किंवदन्ती र जनविश्वास, यहाँ हुने नित्य पूजा तथा धार्मिक अनुष्ठानहरूको वर्णन गरिएको छ। साथै मन्दिर क्षेत्रमा मनाइने पर्व–उत्सवहरू पनि पुस्तकको महत्त्वपूर्ण विषय बनेका छन्।

विशेष गरी वैशाख कृष्ण चतुर्दशीमा मनाइने जात्रा, मैतीदेवीको खटजात्रा तथा लाखे नाच जस्ता सांस्कृतिक परम्पराहरूको विवरणले यस क्षेत्रको जीवित सांस्कृतिक परम्परालाई उजागर गरेको छ।

पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको परिशिष्ट भाग हो। परिशिष्टमा मैतीदेवी मन्दिर परिसरमा रहेका अभिलेखहरू तथा मन्दिरसँग सम्बन्धित गुठी संस्थान केन्द्रीय लगत, अभिलेख शाखा कार्यालयमा सुरक्षित लगत र दस्तावेजहरू समावेश गरिएका छन्। यस्ता ऐतिहासिक दस्तावेजहरूको समावेशले पुस्तकलाई अझ प्रामाणिक, तथ्यपूर्ण र अनुसन्धानका दृष्टिले महत्त्ववपूर्ण बनाएको छ।

यस पुस्तकको विशेषता भनेको यसमा समावेश गरिएका तस्बिरहरू पनि हुन्। मन्दिरका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदालाई झल्काउने तस्बिरहरूले पाठकलाई विषयवस्तु अझ स्पष्ट रूपमा बुझ्न सहयोग पुर्‍याउँछन्। यस कारण मैतीदेवी मन्दिरबारे जानकारी लिन चाहने पाठकका लागि पुस्तक अध्ययन सामग्री मात्र नभई रोचक दृश्यात्मक स्रोत पनि बनेको छ।

अनुसन्धानात्मक कृति हुँदाहुँदै पनि पुस्तकको भाषा सरल, स्पष्ट र सहज छ। जटिल ऐतिहासिक तथा सांस्कृतिक विषयहरूलाई पनि सहज ढंगले प्रस्तुत गरिएकाले यो पुस्तक अनुसन्धानकर्ता, विद्यार्थी, संस्कृतिप्रेमी तथा सामान्य पाठक सबैका लागि उपयोगी बनेको छ।

समग्रमा ‘मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा’ पुस्तकले नेपालका महत्त्वपूर्ण शक्ति पीठमध्ये एक मानिने मैतीदेवी मन्दिरको ऐतिहासिकता, वास्तुकला, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको समग्र अध्ययन प्रस्तुत गरेको छ। यसले मैतीदेवी क्षेत्रको सांस्कृतिक गौरवलाई उजागर गर्नुका साथै भावी अनुसन्धानका लागि पनि महत्त्वपूर्ण आधार प्रदान गरेको देखिन्छ।  

प्रकाशित: ३० फाल्गुन २०८२ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App