१) मुक्तक
पतिका दृष्टिमा पत्नी खराब
पत्नीका दृष्टिमा पति खराब
नभए नि हुन्न हुँदा नि हुन्न
दाम्पत्य अमृत, विष कि सराब?
२) मुक्तक
आफू महान ठानेकैमा गर्व गर्छ मान्छे
छुचो बोल्न जानेकैमा गर्व गर्छ मान्छे
आफू ऐना हेर्ने होइन कालो छु कि सेतो
भिडले जोसमा छानेकैमा गर्व गर्छ मान्छे।
३) मुक्तक
बजारतिर नानाथरी चोलासारी देखिँदै छन्
पत्नीहरू पतिसित आज्ञाकारी देखिँदै छन्
सबैभन्दा लामो पर्व तिजको सुरु भयो क्यारे
किनमेलतिर पुरुष होइन नारी मात्र देखिँदै छन्।
४) मुक्तक
कोही चाकरीका आशक्त
कोही तस्करीका आशक्त
सबैले ठान्छन् आफूलाई
सच्चा नेपाली र देशभक्त।
५) मुक्तक
सुख हुँदा बस्छु भन्छिन् धनदौलतले घेरिएर
मुस्कान छोड्दै माया गर्छिन् अँगालोमा बेरिएर
अरूसित दाँजिएर आफू कमझैँ ठानिन् भने
घर र पति त्याग्दै आफैं मर्न खोज्ने सेरिएर।
६) मुक्तक
उतै हुनुपर्ने मान्छे यतायता किन हुन्छन्
एक्लै ध्यानमा बस्ने मान्छे अचेल किन नेता हुन्छन्
मान्छेले नै ज्यादा दुख दिन थाल्यो मान्छेलाई
तनै कालो मनै कालो टोक्ने दाँत त सेता हुन्छन्।
७) मुक्तक
सन्तुष्टिकै लागि हामी पूजा व्रत गर्छौं
दुखी ठग्छौँ गोदान गर्छौँ शतबीज छर्छौँ
कल्पनाका ईश्वर स्वर्ग देखे जस्तै गरी
स्वर्ग पुग्न कर्तव्य नि नगरेरै मर्छौँ।
८) मुक्तक
धन इज्जत उमेर हुँदा सबै आफ्ना थिए
जसले पाए जेजे खाए स्याबास पनि दिए
मान्छेभन्दा स्वार्थी कोही नपाइने रैछ
सन्ततिले वृद्ध बाबुआमा त्यागिदिए।
९) मुक्तक
आधुनिक भन्ने जनाउनै पर्छ
चाडपर्व सबै मनाउनै पर्छ
काम गरिदिने अन्तै छन् हाम्रा
टिकटक त दैनिक बनाउनै पर्छ।
१०) मुक्तक
जहाज चलाउ ठेला चलाउ आखिर पेसा नै हो
पसल चलाउ अन्न फलाउ आखिर पेसा नै हो
पेसा कर्म ठुलो सानो भन्ने विभेद किन
आर्यघाटमा मुर्दा जलाउ आखिर पेसा नै हो।
प्रकाशित: ७ भाद्र २०८३ ०९:२१ आइतबार





