२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

द्वन्द्व: समय र म

कविता

समय म काटिरहेछु

समय मलाई काटिरहेछ

समय म साटिरहेछु

समय मलाई साटिरहेछ

उफ् !

समय र मबिच

त्रासद द्वन्द्व चलिरहेछ।

समयलाई म भित्ताको क्यालेन्डरमा हेरिरहेछु

समय भित्ताबाट मलाई विस्फारित आँखाले हेरिरहेछ

हामी हेराहेर गरिरहेछौँ

समयलाई म मुठीभित्र राख्न चाहन्छु

समय मलाई उसको कठपुतली बनाउन चाहन्छ

जेहोस् !

समय र मबिच

स्खलित द्वन्द्व भइरहेछ।

समय अघिअधि हिँडिरहेछ

समयलाई म पछिपछि पछ्याइरहेछु

समय हस्याङफस्याङ दौडिरहेछ

समयलाई भेट्न म स्वाँस्वाँ गर्दै दौडिरहेछु

घुम्तीहरूमा मोडिँदा

समयलाई म –

उसको पुच्छर समाउँछु

अनि,

मबाट समय –

उसको पुच्छर थुत्त खोसाउँछ

म ट्वाँल्ल पर्छु

समय मलाई हेरेर अधिल्तिर कुद्छ

म पनि समयलाई पछ्याउँछु

निसन्देहः !

समय र मबिच

प्रतिस्पर्धात्मक द्वन्द्व भइरहेको छ।

समय मेरो अघिअघि आगो ओकल्छ

म समयको पछिपछि हिउँ बर्साउँछु

समय तातो आगो मन पराउँछ

म चिसो हिउँ मन पराउँछु

तातो रनक्क रन्किन्छ

चिसो सलक्क सेलिन्छ

अन्ततः!

समय र मबिच

ध्रुवीय द्वन्द्व चलिरहेछ।

समय –

मैदान मैदान दौडदै पहाडका गर्खाबाट

हिमशिखरतर्फ उग्लिरहेछ

म पनि –

मैदानबाट पहाड हुँदै हिमशिखरतर्फ

सपनाका नौरङ्गी तोरीबारी विचरण गर्दै

उग्लने यत्न गरिरहेछु

समय मभन्दा अगि छ

म समयभन्दा पछि छु

शाश्वत तथ्य यही हो

हामीसँगै छौँ

तर,

समय मेरो अगाडिअगाडि छ

म समयको पछाडिपछाडि छु

अन्तत्वगत्वा !

समय र मबिच

निशस्त्र द्वन्द्व भइरहेछ।

समय हिँडिरहेको छ

म पछ्याइरहेको छु

जब,  

समय हिम शिखरमा पुग्छ

म पनि शिखरमा पुग्छु

समय त्यही अलपिन्छ

म समयलाई खोज्छु

समय मसँग भाग्छ

समयलाई म देख्दिनँ

समयलाई म खोज्छु

समय मलाई बिर्सिन्छ

समयलाई खोज्दा खोज्दै धाम डाँडामा पुग्छ

बिस्तार बिस्तार सूर्य क्षितिजको काखमा लुक्छ

अँध्यारो पयर फट्कार्दै आउँछ

अफसोस,

चूक घोप्टिएको कालो कालो देखा पर्छ

म काप्छु

म चिच्याउँछु

म विदीर्ण रोदन गर्छु

अनि,

म निः श्वास बन्छु

रै पनि !

समय र मबिच  

अस्पृश्य द्वन्द्व चलिरहेछ।

प्रकाशित: २ श्रावण २०८३ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App