१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

कलाकारको सम्बन्ध उजागर गर्दै ‘चिरञ्जीवी भवः’

चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । स्वर रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको छ । संगीत बाबुल गिरीको छ ।
लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरी छ । रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दू मानेका छन् ।
गीतमा प्रयोग भएका मौलिक शब्दले समग्र गीतलाई बलियो बनाएको छ । टिपिकल शब्द छनोट र प्रयोग छ । बलियो हुकलाइने सिनेमाको यो गीतमा हिट हुने क्षमता प्रदान गरेको छ ।
सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ ।
गीतले सिनेमाका क्यारेक्टरको अन्तरसम्बन्ध उजागर गरेको छ । चलचित्रका पात्रहरूको पारिवारिक सम्बन्धलाई खोलेको छ । यसक्रममा सिनेमाका अधिकांश पात्र भिडियोमा देखिन्छन् ।
गीतको अन्तिमको दृश्यले थ्रिल दिने प्रयास गरेको छ । एक्सासि घट्ने घटनाले कुन रुप लिन्छ भन्ने कौतुहलता गीत र यसको भिडियोले सिर्जना गरेको छ । भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको छ ।
‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।
गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतीक्षा छ । यस कारण नै यो सिनेमा प्रतिक्षित बनेको छ ।
यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् ।
कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।
सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।
उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहकार्य रहनेछ । रञ्जित गजमेरको पनि सिनेमामा गीत रहनेछ ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ ।
गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् ।
सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन् ।
यो चलचित्र माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ ।

प्रकाशित: १९ कार्तिक २०८३ १८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App