२४ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

चाडपर्व

लघुकथा

"छोरा अहिले त दँशैमा आउछस् नि? " भिडियो कलमा दिनेशले उमेशलाई सोधे।

"हेर्छु बाबा विदा मिल्यो भने अवश्य आउँछु।" उमेशले आश्वासन दिँदै भन्यो।

"यो कान्छाले सधैँ यस्तै भन्छ! विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व? जेठो उस्तै, माइला झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैलाई।" नजिकै बसेकी भुर्की फतफताइन्। आमाको त्यो आवाजले उमेशको मुटुमा चसक्क भयो।

"तिमी पनि मलाई बोल्नै नदिएर बोल्छौ, पहिले उसको कुरा त सुन ऊ कस्तो अवस्थामा छ।" दिनेशले आफ्नी पत्निलाई चोर औँलाले चुप गराउँदै भने।

"बाबा! छोरा आएन भन्ने पिरले हो, आमा रिसाउनुभएको मैले छुट्टी मिलाउने प्रयास गर्छु। बरू एकपटक आमालाई दिनुस् फोन।" उमेशले आमासँग कुरा गर्ने जिज्ञासा राख्यो।

"लौ उमेशसँग अलिक राम्रो कुरा गर।" दिनेश भुर्कीलाई मोबाइल थमाउँदै भने।

"आमा दर्शन " उताबाट सिर निहुराएर भन्यो।

"हो बाँचिरहेस् भाग्यमानी भएस्" भुर्कीले छोरालाई आशीर्वाद दिइन्।

"आमा आज विज्ञानले हामीलाई कति नजिक पुर्‍याएको छ। प्रविधि नभैदिएको भए हामीले यसरी कुरा गर्न पाउने थिएनौ होइन र?" उमेशले भन्यो।

भुर्कीले सम्झाउँदै भनिन्, "हो क्यारे हुन त तर हेरेर कुरा गरेर मात्रै हुन्छ र घरमा पनि आउनुपर्छ।"

"आमा अर्काको देशमा छौँ। उसैले जा नभन्दै आउन पाइँदैन। मेला पर्व त राष्ट्रका गहना हुन्छन् अनि बाआमा जन्मदाता हामीले कसरी भुल्न सक्छौँ?

"खै लोकाचार त होला नि? आफूलाई भौतिकवादी भन्नेहरूको नेता भाको रहेछौ तिमी।" भुर्की भावुक हुँदै भनिन्।

"आमा भौतिकवादीहरूले चाडपर्व नमनाउँ, आमाबाबासँग भेट नगर भन्दैनन्। बरू अन्धविश्वासमा नफसौँ, पुग्नेभन्दा बढी खर्च नगरौँ मात्र भन्छन्।" उमेशले जानकारी गरायो।

"तैँले दँशैमा टीका लगाउँछस त?" भुर्कीले निदार खुम्चाउँदै साेधिन्।

"आमा, अवश्य त्यो त मेरो आमाको स्नेह र आशीर्वाद मिश्रित अमूल्य उपहार हो‌, मेरा लागि।" उमेशको कुराले भुर्कीका आँखा रसाए। उनी भावुक भइन् र फोन काटिन्।

प्रकाशित: २४ आश्विन २०८३ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App