अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘लालीबजार’ ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार प्रदर्शनको ५१ औं दिन पार गरेको हो। यस चलचित्र चालू वर्षकै सर्वाधिक कमाउने चलचित्र समेत बनेको छ।
चलचित्र विकास बोर्डको असार ७ गतेसम्मको तथ्याङ्कअनुसार ‘लालीबजार’ ले कुल ९ करोड २८ लाख १४ हजार रुपैयाँको व्यावसायिक कारोबार (ग्रस कलेक्सन) गरेको छ।
यस अवधिमा ३ लाख १५ हजार ७ सय २४ जना दर्शकले चलचित्र हेरेका छन्।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले क्युएफएक्स चेन अन्तर्गतका हलहरूसहित भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, न्युरोडको रञ्जना सिनेप्लेक्स, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिनेमाज, फ्रेन्ड्स सिनेमाज (बुटवल र इलाम) र नेपालगञ्जको सिने रोयलमा ५१ औँ दिन पूरा गरेको हो।
विशेष अवसरको अवसर पारेर चलचित्रको टोलीले शनिबार विभिन्न सिनेमा घरहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ। अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत शनिबार चलचित्र युनिटले विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेको जानकारी दिइन्।
यम थापाको कथा तथा निर्देशन रहेको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरी लगायतका कलाकारको अभिनय रहेको छ।
प्रकाशित: १३ असार २०८३ १५:२१ शनिबार





