७ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अभियान

लघुकथा

“पल्लवी, राजनीतिलाई थाती राखी व्यापार सुरु गर्न लागिस् कि के हो?” निष्ठाले जिज्ञासा व्यक्त गरी।

“त्यस्तो हैन निष्ठा, राजनीतिलाई नै टेकोपिडो हुने गरी व्यवसाय सुरु गर्न लागेकी हुँ। भाइले सघाउँछ। म फ्री नै हुनेछु। राजनीति गर्न पनि अर्थनीति आवश्यक पर्छ नि त।” पल्लवीले सटिक जवाफ फर्काई।

पल्लवी र निष्ठा नेतृ हुन्। पल्लवीको जीवन त्यति सहज छैन। बाबुआमा बितेपछि भाइ हुर्काउँदै पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक परिस्थितिबाट ऊ गुज्रिएकी थिई। परिस्थिति सहज बनाउन उसलाई हम्मेहम्मे परेको थियो।

साथीभाइ, आफन्तजन र राजनीतिकर्मीहरूले उसको मनोबल उँचो बनाउन सहयोग उपलब्ध गराए। फलस्वरूप उसले पढाइलाई निरन्तरता दिन सकी। पढाइ सँगसँगै उसले नारी मुक्तिका लागि काम गर्ने मनस्थिति बनाई महिला संघमा आबद्ध भई।

ऊ घरव्यवहार पढाइ र राजनीतिले व्यस्त रहन थाली। भाइको पनि पढाइ चलिरहेको थियो। भाइ छात्रवृत्ति पाएर एमविविएस अध्ययन गरिरहेको थियो। पल्लवी आफैँ पनि छात्रवृत्ति प्राप्त मास्टर्सकी विद्यार्थी थिई। राजनीतिशास्त्रमा पल्लवीको विशेष दखल थियो। भाषणकलामा पोख्त थिई। द्वन्द्व व्यवस्थापन उसको रुचिको विषय थियो। समाजमा अनेक द्वन्द्व सिर्जित हुन्थे। महिलामाथि हुने घरेलु हिंसा न्यूनिकरणका लागि महिला संघले उसलाई विशेष जिम्मेवारी दिएको थियो।

महिलामाथि हुने घरेलु हिंसा खास गरी पितृसत्तात्मक सोचका कारण हुने गरेको तथ्य उसले पत्ता लगाई। जाडँरक्सी, जुवातास दाइजो व्यभिचार पनि हिंसाका कारण थिए। महिला अशिक्षित रही आफ्नो अधिकारप्रति सचेत नरहनु महिलाको पनि कमजोरी थियो। ऊ नारीहरूलाई सचेत गराउन  निरन्तर लागिरही।

नारी मुक्तिका लागि पल्लवीको अभियान सार्थक बन्ला त?     

प्रकाशित: ७ भाद्र २०८३ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App