१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘विद्यार्थीलाई समाज, साहित्य र संस्कृति बुझाउन सके सभ्य र समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ’

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा अन्तर्क्रिया तथा कविगोष्ठी भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्वाङको अध्यक्षता र  नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

‘विद्यालयमा कुलपति’ शृङ्खला अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूबिच प्रतियोगितात्मक कविता वाचन गराइएको थियो भने आमन्त्रित स्रष्टाहरूले पनि आआफ्ना रचना वाचन गरेका थिए।

उक्त अवसरमा कुलपति राईले सावित्रीदेवी गुरुङकाे ‘जीवनका भोगाइ र चुनौतीहरू’ पुस्तककाे लाेकार्पण गरे।

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य हरिचन्द्र लावती लगायतको उपस्थिति रहेको थियाे।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले ज्ञान निर्माणको पहिलो खुट्किलो विद्यालय भएकाले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गर्दै ‘विद्यालयमा कुलपति’ शृङ्खला सञ्चालन गरिँदै आएको बताए।

प्रज्ञाप्रतिष्ठानका गतिविधिलाई विकेन्द्रीकरण गर्ने अभियानका क्रममा फिदिम आउँदा पाएको स्वागतबाट आफू प्रभावित भएको उनले उल्लेख गरे। विद्यार्थीलाई समाज, साहित्य र संस्कृति बुझाउन सके मात्र सभ्य र समुन्नत राष्ट्र निर्माण गर्न सकिने उनको धारणा थियो।

कविता प्रतियोगितामा सन्देश दुलाल प्रथम, सविन तुम्सिङ द्वितीय, झरना अर्याल तृतीय र कृतिना तुम्रोकले सान्त्वना स्थान हासिल गरे।

प्रतियोगी विद्यार्थीहरू लक्ष्मी फुयाल, मदन पोखरेल, अनु भट्टराई, आशिका राई, डोल्मा तामाङ, प्रीति तुम्बापो, अनिला राई, मिरिम्सा राई, अन्जली तामाङ, समृद्धि काफ्ले, मिलन बयलकोटी र उत्सव बास्कोटाले मातापिताको महानता, जीवनका भोगाइ, समाज र संसारप्रतिको दृष्टिकोण लगायत विभिन्न विषयमा कविता वाचेका थिए।

२००६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १ देखि १२ कक्षासम्म झन्डै दुई हजार एक सय विद्यार्थी रहेको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने तथा पाँचथरका स्रष्टाहरूबिच जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताए।

शिक्षक जीवनप्रसाद भण्डारीले सहजीकरण गरेकाे कार्यक्रममा विद्यालयमा १२ कक्षा मा इन्जिनियरिङ अध्ययनरत न्युमन बास्कोटाले बनाएको कुलपति राईको स्केच मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।

प्रकाशित: १ फाल्गुन २०८२ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App