२२ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘द एभरेस्ट ड्रीम’ हेर्दा भावुक बने बेलायती राजदूत

मस्तिष्कमा गम्भीर चोट भोगेका बेलायती नागरिकहरूको सगरमाथा बेस क्याम्पसम्मको यात्रामा आधारित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ प्रिमियर भएको छ।

पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेको निर्देशनमा बनेको डकुमेन्ट्री आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर भएको हो।

डकुमेन्ट्री हेर्दा कार्यक्रममा उपस्थित नेपालका लागि बेलायती राजदूत रब फेन भावुक बनेका थिए।

राजदूत फेनले डकुमेन्ट्रीलाई एकदमै प्रेरणादायी भनेका छन्। त्यसैगरी, प्रिमियरमा उपस्थित युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाकी प्राध्यापक जेनिफर कूलले पनि फिल्मले आफूलाई गहिरो प्रभाव पारेको सुनाइन्।

फिल्मले दुर्घटनापछि जीवनसँग जुधिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा बोल्छ। द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा स्कटल्याण्डका ब्रेन इन्जुरीबाट बाँचेका पाँच जना बिरामी र उनीहरूका परिवारसहित सात जनाको टोलीले बेस क्याम्पसम्मको पदयात्रा गरेका थिए।

चोटपछि डाक्टरहरूले उनीहरूलाई सामान्य जीवनमा फर्किन कठिन हुने बताएका थिए। तर, हार नमानी उनीहरूले सगरमाथा बेस क्याम्पको यात्रा तय गरे।

करिब डेढ वर्षको मेहनतमा तयार भएको यस फिल्ममा स्कटल्याण्डबाट सुरु भएको उनीहरूको यात्रा काठमाडौं हुँदै खुम्बु क्षेत्रसम्म पुगेको देखाइएको छ।

पदयात्राका क्रममा आइपरेका चुनौतीहरूलाई फिल्ममा सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ। उचाइ, थकान र स्वास्थ्य समस्यासँग जुध्दै शेर्पा गाइडहरूको सहयोगमा उनीहरू अघि बढेको दृश्य यसमा छ।

फिल्म निर्माणका क्रममा निर्देशक पाण्डे आफैंले पनि ठूलो जोखिम मोलेका छन्। सुटिङका क्रममा बेस क्याम्प पुग्नै लाग्दा अक्सिजनको कमी भएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरेर फर्काउनु परेको थियो।

आजको प्रिमियरपछि ‘द एभरेस्ट ड्रीम’ लाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गरिने निर्देशक पाण्डेले जानकारी दिए।

भूकम्पमा आधारित उनको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ ले १७ भन्दा बढी अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो भने बहुपति प्रथामा आधारित ‘को-हजबेण्ड’ ले एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भएको थियो।

प्रकाशित: २२ चैत्र २०८२ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App