परिवर्तन युवा क्लबको सभाहलमा "परम्परागत विवाहभन्दा प्रेम विवाह उत्तम" विषयमा खुला युवा वादविवाद प्रतियोगिता चलिरहेको थियो। प्रतियोगीहरू तर्कमाथि प्रतितर्क उठ्थे, एक-अर्कामाथि शब्दबाण प्रहार गरिरहेका थिए। पक्ष र विपक्षका तार्किक कुरा सुनेर हलमा उपस्थित स्रोताहरू कता ढल्कने भन्ने अलमलमा पर्दै पालैपालो दुवैतर्फ ताली बर्साइरहेका थिए।
ताली कहिले एउटातिर बग्थ्यो, कहिले अर्कोतिर। प्रतियोगीहरू आआफ्नो स्थानमा फर्किएपछि उद्घोषकले घोषणा गरे, "नतिजाअघि हाम्रा विशेष वक्तालाई केही शब्द राख्न अनुरोध गर्दछु।"
हलको पछाडिबाट एउटा ह्विलचेयर मञ्चतिर आयो। पोडियमले वक्तालाई छेकिदियो। आयोजकका एक सदस्यले हतारहतार माइक स्ट्यान्डबाट निकालेर उनको ओठको नजिक पुर्याइदिए।
वक्ताले हलभरि आँखा डुलाए र मधुरो मुस्कुराउँदै भने, "म निर्णय सुनाउन आएको होइन," उनले हलभरि दृष्टि डुलाए, म त आफ्नो जीवनको एउटा पाना पल्टाउन मात्र यहाँ उभिएको छु। यो मेरो भोगाइ हो। तपाईंहरूको बहससँग कति मिल्छ, आफैँ जाँच्नुहोला।"
हल निश्चल भयो।
"मैले पनि प्रेम विवाह गरेको थिएँ।"
वक्ताले यति भन्दा वादविवादको 'पक्ष' तर्फका प्रतियोगीहरूले गौरवका साथ मुन्टो हल्लाए, केहीले त सिटबाटै ताली पड्काए।
"हामीलाई रोक्नेहरू धेरै थिए। हामीलाई लाग्थ्यो, प्रेमले सबै पर्खाल नाघ्छ। अन्ततः हामीले प्रेमलाई विवाहको सिन्दुर पहिर्यायौँ।"
उनको दृष्टि आफ्नै शरीरमा गएर अडियो।
"केही महिनापछि सडक दुर्घटना भयो। होस खुल्दा डाक्टरले भने, मेरुदण्डले अब शरीरलाई साथ दिने छैन।"
उनले नचल्ने खुट्टामाथि हात राखे।
"श्रीमतीले मेरो हात समातिन्। मुस्कुराइन्।
'भोलि फेरि आउँछु,' भनिन्।" वक्ताको स्वर काँप्यो।
हाँसिरहेका अनुहारहरू एकाएक गम्भीर भए। केही क्षण कसैले सास फेरेको आवाज पनि छुट्टै सुनियो।
"भोलि' त आयो तर उनी कहिल्यै आइनन्।"
"तीन वर्षदेखि ह्विलचेयर चलिरहेकै छ। गाउँबाट कहिलेकाहीँ खबर आएको थियो, उनी अर्कै जीवनतिर लागिछिन् रे।"
वक्ताले माइक सहयोगीको हातमा थमाए र ह्विलचेयर फर्काउन इसारा गरे।
ह्विलचेयर बिस्तारै मञ्चबाट ओरालियो। निर्णायकले नतिजाको पाना उठाए, फेरि टेबुलमै राखे।
मञ्चबाट ह्विलचेयर बिस्तारै बाहिरिँदै गर्दा 'पक्ष' तर्फका प्रतियोगीहरूका तालीका लागि उठेका हात हावामै रोकिएका थिए, विपक्षतिर के गर्ने भनेर अलमलिएका थिए।
मञ्चमा कसैले कुनै निष्कर्ष सुनाएन।
हलभरि भने प्रत्येकले आआफ्नो निर्णय आफैँ सुनाइरहेका थिए।
प्रकाशित: ८ श्रावण २०८३ ०८:१३ शुक्रबार





