६ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

विद्यार्थीमाथि भएको लाठीचार्जप्रति बलिउड कलाकारले गरे आलोचना

दिल्लीको जन्तर–मन्तरदेखि संसदसम्म निकालिएको कक्रोच जनता पार्टीको आन्दोलनका क्रममा विद्यार्थीमाथि प्रहरीले गरेको लाठीचार्जको विषयमा बलिउडका चर्चित कलाकारहरूले खुलेर आलोचना गरेका छन्।

कलाकारहरू आयुष शर्मा, सोनु सूद, अनुराग कश्यप, हुमा कुरैशी, भूमि पेडनेकर, विशाल ददलानी र युट्युबर तथा बिग बस फेम एल्भिश यादवले सामाजिक सञ्जालमार्फत घटनाप्रति असन्तुष्टि जनाएका हुन्।

सलमान खानका ज्वाइँ तथा अभिनेता आयुष शर्माले स्वस्थ लोकतन्त्रको पहिचान केवल मतदान नभई हरेक नागरिकको आवाज सुन्ने संस्कृतिमा रहेको बताए। विद्यार्थी वा कुनै पनि नागरिकले आफ्ना माग राख्दा त्यसलाई दबाउने होइन, सम्मानपूर्वक सुन्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारले अन्ततः विद्यार्थीहरूको आवाज सुनेको कुरा सकारात्मक भए पनि आन्दोलनका क्रममा विद्यार्थीहरूले अश्रुग्यास र लाठीचार्जको सामना गर्नुपरेकोमा दुःख व्यक्त गरे। आफ्ना माग सरकारसमक्ष पुर्‍याउन युवाहरूले यस्तो अवस्था भोग्नुपरेको चिन्ताजनक रहेको उनले बताए।

अभिनेता सोनु सूदले सामाजिक सञ्जालमा 'हाम्रो विद्यार्थीहरूलाई लाठी होइन, अँगालो हाल्ने हात चाहिन्छ' भन्ने प्रतिक्रिया दिएका छन्।

यता फिल्म निर्देशक अनुराग कश्यपले इन्स्टाग्राम स्टोरीमार्फत प्रहरी कारबाहीमाथि प्रश्न उठाएका छन्। उनले गलत आदेश पालना गर्न अस्वीकार गर्ने प्रहरी अधिकारी कोही नभएको भन्दै निराशा व्यक्त गरेका छन्।

अभिनेत्री हुमा कुरैशीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको बल प्रयोगलाई दुखद भन्दै यस्तो अवस्था संवाद र धैर्यका माध्यमबाट समाधान गर्न सकिने बताइन्। उनले लोकतन्त्रमा नागरिकलाई प्रश्न सोध्ने र सरकारसँग जवाफदेहिता माग्ने अधिकार रहेको उल्लेख गर्दै बल प्रयोग गर्नु अघि सबैको आवाज सम्मानपूर्वक सुनिनुपर्ने धारणा राखिन्।

त्यस्तै अभिनेत्री भूमि पेडनेकरले हिंसा कुनै समाधान होइन भन्दै देशले आफ्ना युवाप्रति जिम्मेवार बन्नुपर्ने बताइन्। आन्दोलन हिंसात्मक नबनोस् र आफ्नो उद्देश्यबाट विचलित नहोस् भन्ने सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

भूमिले शिक्षा प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै प्रश्नपत्र ‘लिक’, परीक्षा व्यवस्थापनमा कमजोरी, समान अवसरको अभाव, शिक्षकको कमी तथा विद्यार्थीमाथि बढ्दो मानसिक दबाबजस्ता विषयमा तत्काल ध्यान दिन सरकारसँग आग्रह गरेकी छन्।

युट्युबर एल्भिश यादवले पनि विद्यार्थीमाथि भएको हिंसाको विरोध गर्दै आफू कुनै राजनीतिक दलको समर्थक नभए पनि विद्यार्थीहरूमाथि भएको व्यवहार पूर्ण रूपमा गलत भएको बताए। उनले जायज माग राख्ने विद्यार्थीहरूको कुरा सुनिनु र आवश्यक कदम चालिनुपर्ने धारणा व्यक्त गरे।

सोमबार बिहान जन्तर–मन्तरदेखि संसदसम्म निकालेको मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको थियो। प्रदर्शनकारीहरूले सुरक्षा बार तोड्दै संसदतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

घटनापछि संसद भवनको सुरक्षा कडा पारिएको थियो। साँझतिर विद्यार्थीमाथि लाठीचार्च भएको थियो जहाँ कैयौँ विद्यार्थी गाइते भएका छन्। जुन सामाजिक सन्जालमा देख्न सकिन्छ। भारतीय मिडिया अनुसार भने विद्यार्थी तथा प्रहरी दुवै पक्ष घाइते भएका छन्।

कक्रोच जनता पार्टीले निहत्था प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप लगाएको छ भने प्रहरीले सुरक्षा अवस्था नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जनाएको छ।

प्रकाशित: ५ श्रावण २०८३ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App