कोठामा पस्दै मैले साेधें, "बडी सञ्चै हुनुहुन्छ?"
"को, नेत्र होस्!" बडीले आवाज ठम्याउनुभयो।
"हजुर बडी, म नेत्र हो।"
"माया मारिस् बाबै! आज कसरी बाटो बिराइस्?"
"आआफ्नो काम, आआफ्नो समस्या, भियाइँदैन।"
"आज कसरी भियाइस्?"
"दशैंदेखि आउन नपाएकाले आज त बिदा लिएरै आएको।"
बडीछेउमा आएर बस्नुभयो। मेरो टाउकोमा हात राखेर निकैबेर मलाई सुम्सुम्याउनुभयो अनि भन्नुभयो, "कान्छा, माथ्लो फ्ल्याट पूरै खाली छ, भाडा तिर्नु पर्दैन। केटाकेटी ल्याएर राखिदे।"
म विगतमा हराउन पुगेँ। बडीका दुवै छोरा, मेरा दाजुहरू सपरिवार अमेरिकामा बस्थे, उसैबेला देखिनँ। बडी एक्लै हुनुहुन्थ्यो घरमा। म पहाडबाट नयाँ दुलही लिएर पुगेको थिएँ बडीको यही घरमा।
काठमाडौं मलाई नौलो थियो। कुनै कामको ठेगान थिएन। मैले एउटा कोठा भाडामा दिन अनुरोध गरेको थिएँ। बडीले त्यसबेला भनेको अझै बिझिरहेको थियो।
`तँ अनपढलाई कसरी राख्न सक्छु मेरा घरमा। मेरा सबै आफन्त पढेलेखेका छन्। प्रायः सबैको बसाइ र आवतजावत अमेरिकामै छ। जा बरु गोरु किन्ने पैसा लगाइदिन्छु पहाडमा गएर हलो जोत्नु।´
बडीले टाउकाको हात हटाउँदै भन्नुभयो, "किन टोलाएको कान्छा?"
मैले पनि भनेँ, "अब त मेरो आफ्नै घर छ त बडी।"
प्रकाशित: २५ आश्विन २०८३ ०९:५६ आइतबार





