विराट साहित्य सङ्गम, विराटनगरको २३८ औँ साहित्यिक श्रृङ्खला सम्पन्न भएको छ।
विराट साहित्य सङ्गम, विराटनगरका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा नगेन्द्रमणि-विन्ध्या न्यौपाने पुरस्कार कुमार प्रधान र निरजकुमार खतिवडा साहित्य प्रोत्साहन पुरस्कार नानुमैया दाहाललाई अर्पण गरिएकाे छ।
प्राडा मेदिनीप्रसाद शर्माको विशेष आतिथ्यतामा कार्यक्रम भएकाे हाे।
संस्थाका संस्थापक अध्यक्ष समेत रहेका प्रमुख अतिथि बलराम पोखरेलले मोसफलमा निजी प्रयासबाट सञ्चालित यस साहित्यिक संस्थाले काबुबाहिरको परिस्थितिबाहेक मासिक रूपमा प्रत्येक महिनाको अन्तिम शनिवार नियमित रचना वाचन कार्यक्रम सम्पन्न गर्दै २३८ औँ श्रृङ्खला सम्पन्न गरेको तथा करीब १६ वर्ष अगाडि प्रकाशन प्रारम्भ गरिएको सङ्गम अभियान साहित्यिक मासिक समेत अविछिन्न रूपमा १९३ अङ्कसम्म प्रकाशित गरिसकेको स्मरण गर्दै आफूले रोपेको फूल मगमग बास्ना छरेर फुल्दा मालीलाई मिल्ने आनन्द जस्तै आनन्द मिलेको खुलासा गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे।
त्यस्तै विशेष अतिथि प्राडा मेदिनीप्रसाद शर्माले यो संस्थाले नियमित रूपमा गर्ने रचना वाचन कार्यक्रमको जगमा विराटनगर र आसपासका क्षेत्रका नवोदित स्रष्टाहरूको जन्म भइरहेको बताउँदै कार्यक्रम तथा प्रकाशन निरन्तरताको कामना गरे।
प्राडा मिनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाई, हरिप्रसाद बराल, कविता केशरी, नानुमैया दाहाल, जमुना पौडेल लगायतका स्रष्टाले रचना वाचन गरेका थिए।
उक्त कार्यक्रममा प्राडा हरिहर भण्डारी, सीमा आभास, सुमन पोखरेल लगायत विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको उपस्थिति थियो।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरको सभाहलमा भएकाे कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव गोपाल निर्भीकले गरेका थिए।
प्रकाशित: ३१ जेष्ठ २०८३ ०८:०९ आइतबार





