भाषामा भरिला शताब्दिभरका सम्राट भानू तिमी
रामायाण रच्याै सगर्व रसिलाे भाषा पिता हाै तिमी
भानू हाै सब अन्धकार चिरने आलाेक फैलाउने
कालाे रात उजालने विविधमा याैटै लवज् भर्रदिने ।।
माैरीले जसरी बटुल्छ फुलकाे मीठाे बनाई रस
नेपाली बहुरङ्गलाइ बटुली भाषा बनायाै अझ
घाँसी हुन् गुरु ज्ञानका विषयमा सत्मार्ग सम्झाउने
घाँसीकाे जुन अर्ति भाे हृदयकाे दैलाे उघारीदिने ।।
घाँसी हाे घरमा दरिद्र धनकाे भर् पेट् नखाईकन
बेची घाँस कुवा खनाउन बहुत् गर्थ्याे सधैँ मन्थन
भन्थ्याे केही हुँदैन बाकसमहाँ राखेर धन् दाैलत
गर्नै पर्छ मनुष्यकाे हित हुने साेचेर काम् दुर्लभ।।
अस्ताएपछि आउँदैन कहिल्यै फर्केर याे जिन्दगी
बाचुञ्जेल् गर कर्म कीर्ति रहने पाइन्न खाेजे जति
जे जस्तो परिवेश याे समयले जिम्मा दियाे तै पनि
भाेग्नैपर्छ नमानि फिक्रि मनमा सत्कृति राख्नै पनि।।
घाँसीकाे उपदेशले सुयशकाे ब्यूँझेछ भित्री मन
पैदा भाे हलचल् सुशान्त मनमा आगाे बल्याे दन्दन
धन्मान्ले भरिपूर्ण छन् तरपनी किर्ती के हाे छ कता
खाेज्नै व्यस्त भयाै र भानु भरिलाे लेख्याै अमुल्य कथा ।।
विद्वान्का घरमा जनम् हुन गयाे बाजे थिए पण्डित
जागिर्दार पिता र गाउँभरमा हुन्थे सदा पूजित
भण्डार्मा अनगिन्ति सम्पति, अनाज् थुप्रेर के वेश् हुने
कीर्ती राख्न कदापि चुक्न नहुने काम् हाेस् बहुत् यश हुने
अन्पढ् जंगलमा पसेर हरदिन् घाँस् काट्नमै व्यस्त त्याे
घासी कर्म कमाइमा खुश हुने सत्कार्यमा जुट्छ जाे
बेची घाँस कुवा खनाउन अती मन् गर्दथ्याे तैपनि
राखी स्वर्ण अमूल्य रत्न अझतक् बस्दाेछु के मैपनि ।
निद्राबाट छुटेर झट्ट जसरी ब्यूझन्छ मान्छे जब
ब्यूझे भानु बिहानका रविसरी त्यागेर आलस्यता
मैले गर्नुछ काम कृति रहने यूगान्त बाच्ने गरी
भाषाकाे भव सिन्धु भित्र कविजी पाैडे जवानीभरि।
मालीले जसरी अनेक थरिका जाेडेर थुंगाहरु
माला उन्छ उसै गरि जतनले जाेड्याै अनेक् मन्हरु
भाषाकाे अनिकालमा सरसिलाे, लेखेर रामायण
जाेड्याै भाव विशालकाय जनकाे याैटै भयाे बन्धन ।।
भाषाले जनजिन्दगी गुँथिदियाै एक् सुत्रमा फूल झैँ
शिल्पीले जसरी उतार्दछ मुहार् आफैँ कलाकार भै
याैटै माध्यम भाे बिचार बहने गासेर भित्री मन
भाषालाइ खिप्याै सजावट गर्याै लेखेर रामायण ।।
सिङ्गो देश सिगारने लवजकाे साझा बनाई घर
नेपाली मन जाेडने सहजमा भाषा चुनी सुन्दर
सैयाै फूल फुलाउने लहडमा राेजेर रामायण
नेपालीपन झल्कने गहकिलाे भाषा दियाै कञ्चन ।।
माटाे एक, अनेक जात थरका भाषा अझै भिन्नता
बाटाे एक समस्त लक्ष्य चुमने वाणी मिठाे सभ्यता
याैटै लक्ष्य स्वदेशकाे विषयमा चिन्तन् गरेका थियाै
साराकाे मन जाेडने लवजकाे एक् सूत्र बाँधीदियाै ।।
घाँसीकाे उपदेशले मगजकाे दैलाे उघारीदियाे
कस्ताे बुद्धि असल् रहेछ उनकाे भाग्य सुधारिदियाे
दियाे अर्ति अनन्त काल चीर भै बाँच्ने नमर्ने कुनै
भानूभक्त भनेर विश्वभरमा आलाेक छर्ने उनै।।
साँवा अक्षर भैसिकाे सिङसरि घाँसी थियाे तापनि
अर्ती भानुकनै दियाे सहस त्याे भाे मृतसञ्जीवनी
हुन्थे भानु न बन्दथ्याे सहजमा भाषा मिठाे सुन्दर
घाँसी त्यै नभए बेहद् लवजमा हुन्थ्याे अधिक् अन्तर।।
प्रकाशित: ३ श्रावण २०८३ ०७:०८ आइतबार





