वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री मिरुना मगरले उत्कृष्ट कलाकारको पुरस्कार प्राप्त गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारो २०८३’ मा यी कलाकारले पुरस्कार हात पारेका हुन्।
शाहले चलचित्र ‘परान’ र मिरुनाले ‘ऊनको स्वीटर’ का लागि उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन्। सोही क्रममा चलचित्र ‘ऊनको स्वीटर’ ले भने तीन विधामा आफ्नो बर्चस्व जमाउन सफल भएको छ। यसले उत्कृष्ट अभिनेत्री, उत्कृष्ट चलचित्र तथा उत्कृष्ट निर्देशकको पुरस्कार पाएको छ। नवीन चौहानले भने आफ्नो पहिलो निर्देशकीय चलचित्रबाट उक्त पुरस्कार हासिल गरेका हुन्।
चलचित्र ‘परान’ बाट दीपकप्रसाद आर्चाय र यम थापाले उत्कृष्ट लेखक विधामा पुरस्कार जितेका छन्।
उत्कृष्ट छायांकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि यसै चलचित्रबाट नहकुल खड्काले प्राप्त गरेका छन्।
उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड नेपाल भाषाको ‘इन्दिरा धिमे मैचा’ ले जितेको छ। यसै समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। ३ लाख ७५ हजार नगदसहित श्रेष्ठलाई सम्मान गरियो।
साथै चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ।
विशेष विधा अन्तर्गत ‘रमिताको पिरती’ का लागि आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’ का लागि विमोचन दवाडीलाई जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्दा ज्योति राज राईको निर्माण रहेको लिम्बु भाषाको चलचित्र ‘नाक्छोङ’ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ।
उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रबाट अमूल्य योगदान पुर्याएका स्वर्गीय दिनेश सिटौलालाई नगद ५० हजार रुपैयाँसहित विशेष सम्मान अर्पण गरिएको छ।
प्रकाशित: ६ असार २०८३ ११:५० शनिबार





