डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘भताभुङ्गे दरबारको गाडधन’ बजारमा आएको छ।
नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर रूपमा क्रियाशील बजगाईं नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाउँछन्।
धरानको ऐतिहासिक स्थल विजयपुरमा अवस्थित भग्न रूपमा रहेको भताभुङ्गे दरबारमा गाडधन खोज्न निस्केका साहसी तीन बालकले यात्रामा भोग्नुपरेका रोमाञ्चकारी र अनेपेक्षित घटनाहरू यस उपन्यासमा समावेश छन्।
गाडघन भेटिएपछि उत्पन्न समस्याले पाठकलाई कौतुहल जगाउँछ। धार्मिक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण विजयपुरको रोचक प्रसङ्ग र रहस्यहरूले भरिपूर्ण यस उपन्यासले बालबालिकालाई जीवनाेपयोगी पाठ सिकाउँछ।
विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवर्द्धक, शिक्षाप्रद र प्रेरणादायी छ। यो उपन्यास बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन उपयोगी छ।
लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको सेवामा समर्पित बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गर्दै छन्।
ज्ञानवृक्ष पब्लिकेसन प्रालि काठमाडौंबाट रङीन चित्रसहित हार्डकभरमा प्रकाशित ‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासको मूल्य ३९० रुपैयाँ छ।
प्रकाशित: २ चैत्र २०८२ ११:३४ सोमबार





-600x400.jpg)