६ भाद्र २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

पर्यावरणीय आस्था बोकेको बडीमालिका

पर्यटन

पश्चिम नेपालकै सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ। कालीकोट र बाजुराको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन्।

हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि जुम्ला र कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, कालीकोटका खरिदार अर्जुन उपाध्यायको नेतृत्वमा कालीकोटदेखि सरकारी टोली बडीमालिका प्रस्थान गरेको छ। यसअघि डोटी, जुम्ला र बाजुराबाट मात्र सरकारी टोली बडीमालिका जाने गरेकोमा यस वर्षदेखि कालीकोट जिल्ला प्रशासनको नेतृत्वमा सरकारी टोली मूर्ति, ध्वजा, अक्षता, भेटीसहित बडीमालिका जान थालेको हो।

बडीमालिका देशकै प्रमुख शक्तिपीठ भएकाले कालीकोटबाट कर्मचारी, सुरक्षाकर्मीसहित सर्वसाधारणको टोलीलाई बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए। बडीमालिकाका पुजारी पनि कालीकोटको रास्कोटबाटै मूर्तिसहित जाने रहेछन्। उनले भने, ‘पुजारी जाने ठाउँबाट सम्मानस्वरूप सरकारी टोली जानु उचित हुने भएकाले पूजाआजा गरेर टोली खटाइयो।’ उनका अनुसार जिल्ला प्रशासनका तर्फबाट भेटीसहित बडीमालिकाका लागि टोली खटाइएको छ।

गत वर्ष ४५ हजारले बडीमालिकाको दर्शन गरेको थिए। देशकै पवित्र तीर्थस्थल बडीमालिका दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वासले प्रत्येक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन बाजुरा र कालीकोटको बिचमा पर्ने बडिमालिका मन्दिर, खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाको शिरमा पर्ने चुलीमालिका मन्दिर, तिलागुफामा पर्ने पुगमालिका मन्दिर, सान्नीत्रिवेणीको गरुणस्नानी, ताडीको पूजामालिका देवी र कालीकोटको महाबै गाउँपालिका तथा दैलेखको महाबु लेकमा पर्ने महाबु धाममा शिवको पूजाआराधना गरेपछि पूर्णिमाको दिनदेखि अन्य देवीदेवताहरूको थान (मन्दिर) मा पूजा हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए। जनै पूर्णिमादेखि सुरु हुने देवताका मन्दिरमा मंसिर पूर्णिमासम्म जात्रा–मेला लाग्ने गर्छ।

बडीमालिका मेला भर्न तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्थाका लागि सामग्रीसहित टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए। बडीमालिका तीर्थयात्रा जानका लागि सहजीकरण गर्दै त्यहाँ टोली पठाइएको छ।

धार्मिक पर्यटनको गन्तव्य

भूस्वर्गको रूपमा लिइने धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ। भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बायाँ हातको कुम पतन भयो, सोही कुमबाट बडीमालिकाको उत्पत्ति भएको किंवदन्ती छ। यहाँ भगवान् शिवले लामो समय बसोबास गरेको धार्मिक विश्वास रहेको बडीमालिकाका पुजारी हरिकृष्ण धमलाले जानकारी दिए।

हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन्। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका अनुपम उपहार हुन्।

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्य नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन्। समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रंगीचंगी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन्।

खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ। यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुंगी र वन्यजन्तु पाइन्छन्। सफा मौसमका बेला बडीमालिकाबाट उत्तरतर्फका अपूर्व हिमशृंखलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने हुन्छ।

सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भए पनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमशृंखला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने विश्वास छ। यात्राका लागि कालीकोटको रास्कोटदेखिको बाटो छोटो रहेको हुन्छ।

यस वर्षको मेलामा पनि देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरू पूजा तथा दर्शनका लागि बडीमालिका पुग्ने छन्। बडीमालिका धार्मिक आस्थाको अपूर्व संगम हो। यहाँ प्रत्येक वर्ष लाग्ने मेलामा बाजुरा, डोटी र जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली जाने परम्परा छ।

जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक यहाँ आउने गर्छन्। बडीमालिका माताको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने, रोगव्याधी निको हुने, निःसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको छ।

प्रकाशित: ६ भाद्र २०८३ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App