९ असार २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

आसन ग्रहण

लघुकथा

१) आसन ग्रहण

उद्घोषकले कार्यक्रम सुरू गरे। उनले मन्च अगाडि  दर्शक दीर्घामा बसेकालाई पालैपालो मन्चमा आसन ग्रहण गराए।

चालिसपचास जनाजति भेला भए। कुनै राजनीति पार्टीको भातृ संगठनको जिल्ला सम्मेलन भनिएको थियो। अगाडि मन्च खाली थियो, उनीहरू दर्शक दीर्घामा बसेका थिए।  

कार्यक्रम सुरू भयो। आसन ग्रहण गराउन थालियो। मन्च भरिभराउ भयो, खुट्टा राख्ने ठाउँ भएन उता अगाडि सहभागीको स्थान खाली जस्तै भयो।

मन्चासिन प्रमुख अतिथिले उद्घोषकलाई कोट्याए, "खै तल त एकजना पनि मान्छे छैनन् के गरेको यस्तो?"

उद्घोषकले साउतीमै उत्तर दिए, "के गर्नु त सबैलाई मन्चमा उक्लने रहर छ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परियला भन्ने डर!"

२) उचित सम्मान

"यहाँहरूले गरेको यो सम्मान म कहिल्यै भुल्ने छैन। आगामी दिनमा पनि म देश र जनताका लागि यसै गरी खटिरहने छु।" गलाभरि माला भिरेर नेताजी भाषण छाँट्दै थिए। उनी फुरूङ्ग परेर उपस्थितलाई सम्बोधन गर्दै थिए।

कार्यक्रममा उपस्थितमध्ये एकजना सहभागी सँगैका अर्का सहभागीलाई भन्दै थिए, "होइन यो भ्रष्ट नेतालाई यी युवाहरूले के खान सम्मान गरेका हुन् ? विकासका बजेट जति सबै आफैँले झ्वाम पार्छन्, यस्तालाई पनि सम्मान? कालो मोसो दलेर नगर परिक्रमा गराउन लायक छ यो नेता त!" यत्तिकैमा नेताले पनि आफ्ना भनाइ टुङ्ग्याए।

कार्यक्रमको संयोजक जुझारू युवा 'विष्फोट' ले भने, "हामी यस्ता होनहार नेतालाई सम्मान गर्न पाउँदा ज्यादै खुसी छौँ। हामीलाई आफ्नो अमूल्य समय उपलब्ध गराएकोमा नेताज्यूलाई हार्दिक धन्यवाद दिन्छौँ। हाम्रा नेताजी जस्तै राम्रो काम गर्ने नेतालाई हामीले प्रत्येक वर्ष आजका दिन जस्तै यमपन्चकको दोस्रो दिन फूलमाला लगाएर सम्मान गर्ने घोषणा गरेका छौँ।" नेता लाजले रातोपिरो भए। सबैले गडगडाट ताली बजाए।

३) चटक

हेर्दा भद्रभलाद्मी देखिने एक हुल मान्छे एउटा रिसोर्टमा जम्मा भए। एउटा भन्दै थियो, "काटौं- काटौं!"

अर्को भन्दै थियो "कहाँ हुँदैनहुँदैन, एकैछिन पख।"

प्रतीक्षाको घडी सकियो। एउटा मान्छे टुप्लुक्क आइपुग्यो। एउटाले बलेको मैनबत्ती फूsss गरेर निभायो। अर्काले छुरी निकाल्यो र छातीमा धसी हाल्यो। विचरा एकैछिनमा ऊ लल्याकलुलुक भैहाल्यो। सबैले खुसीले ताली पड्काए।

एकएक चोक्टा सबैले बाँडेर लुछे। खेल समाप्त भयो।  

नेपालको नक्सा प्रिन्ट भएको केक धुजाधुजा भैसकेको थियो। सबैले एकसाथ लोलीमा लोली मिलाए, "ह्याप्पी बर्थ डे टु यू!"

४) चोर 

ग्वारग्वार्ती प्रहरीहरू घरभित्र प्रवेश गरेर उनलाई हत्कडी लगाएर घरबाट बाहिर निकाले।

एकैछिनमा भिड जम्मा भयो। गाउँलेहरू मुखामुख गर्न लागे। भिडबाट एकजनाले फ्याट्ट जिज्ञासा राखे, "हैन यो भर्खरको आलो सुत्केरीलाई किन पक्रेको के गल्ती गरिन् र यिनले?"

प्रहरीले प्रत्युत्तर फर्काए, "उहाँले अस्पतालबाट अरूको बच्चा चोरेर ल्याउनुभएको रहेछ!"

"ए हो र? कस्तो अपराधी रहिछे त यो आइमाई! यसरी अर्काको बच्चा चोर्नुहुन्छ? छिमेकमा सुत्केरी भएकी भन्थे त!" प्रश्नकर्ताको प्रतिक्रिया आयो।

"तपाईहरू नै होइन मलाई बाँझी आइमाई भन्ने? अनि मेरो श्रीमानलाई अर्को बिहे गर्न सल्लाह दिने?" आरोपीले भनिन्, चोर म होइन चोर तपाईहरू हो, यो समाज चोर हो! "

५) नाटक 

सुटटाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे! तारे होटलको सभाहल क्षणभरमै भरियो। हकअधिकारका कुरा भए। उनीहरूलाई माथि ल्याउने कुरा भयो। अधिकार बाँडने कुरा भए। पहुँच बढाउने विचार बाँडियो। कार्यपत्र प्रस्तुत भयो। टिप्पणीकारले टिप्पणी गरे। दर्शकले ताली पड्काए। कसैले मोटा र कसैले दुब्ला खाम बुझे। सबै प्रफुल्ल देखिए। कार्यक्रम सकियो। खानपान सुरू भयो। फिला र कवाफ मज्जाले चपाए। विदेशी ब्रान्डीको खोलो बग्यो।

डोरीमा झुण्डिएर होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोक र तिर्खाले प्याकप्याक परेका उनले घुटुक्क थुक निल्दै आफूजस्तै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, "ऊ हेर त, यहाँ त हाम्रै दिवस पो मनाएको रहेछ!"

( लघुकथाकार ध्रुवराज थापा पुरुष’ काे सपनाकाे पहाड लघुकथासंग्रहमा सङ्गृहीत)

प्रकाशित: ८ असार २०८३ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App