२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ!

१) मुक्तक

ठिक वा बेठीक के हुँ भनी आफूलाई जाँच्न सिकौं

कपट राख्ने मनभित्र उदारता साँच्न सिकौं

सबैभन्दा उत्तम चोला मानव भन्ने थाहा भए

जहर पिई मर्नेभन्दा आँसु पिई बाँच्न सिकौं।

२) मुक्तक

निम्तोबिना पार्टीमा गै भोज खान लाज मान्दिनँ म

एकजनालाई डाके पनि सब लान लाज मान्दिनँ म

आडम्बरले महान बन्न पाएँ भने पुग्छ मलाई

गहना र लुगा मागी जन्त जान लाज मान्दिन।

३) मुक्तक

रिक्सा ट्याक्टर भेट्नेहरू डोकालाई हेप्छन् किन

ठूलो कुम्लो भेटेपछि पोकालाई हेप्छन् किन

भोको थिएँ तर ऐले भरेको पेट भन्ने बिर्सी

भोज खाएर डकार्नेले भोकालाई हेप्छन् किन?

४) मुक्तक

धेरै राम्रो पढेपछि विदेशीलाई जागिर खुल्छ

ठूलो जहाज चढेपछि युवालाई जागिर खुल्छ

नयाँ सरकार मात्रै होइन पुरानामै पनि थियो

रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ।

५) मुक्तक

बिहान सस्तो तातो चिया ढुकीढुकी खान्छ  

साँझ महङ्गो चिसो रक्सी लुकीलुकी खान्छ  

मान्छे किन कर्तव्य र अकर्तव्य भुल्दै

राम्रो गरेँ सोचे पनि चुकीचुकी जान्छ।

प्रकाशित: १९ वैशाख २०८३ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App