१४ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

राहत तथा उद्धारमा कलाकारको हातेमालो, कार्यक्रम स्थगन गरेरै सहयोगमा सक्रिय

रासस

केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितहरूका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेकी छन्।

यस्तै, गायक दुर्गेश थापा विपद्लगत्तै लत्ताकपडा, सिरक तथा डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमै पुगेका छन्।

यता गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन्।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीपछि सिर्जित संकटमा स्वतःस्फूर्त रूपमा राहत सहयोग जुट्ने क्रम तीव्र बनेको छ। नेपाली कला क्षेत्रका स्रष्टाहरूले समेत सक्रिय हातेमालो गरिरहेका छन्।

गायक प्रकाश सपूतले संकटको यस घडीमा नेपाली समाजको सह-अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताए।

विपद्को कठिन समयमा प्रभावित नागरिक र देशको साथमा ऐक्यबद्ध भएर उभिनु कलाकारहरूको पनि प्रमुख दायित्व रहेको उनको भनाइ छ। यता बाढी प्रभावित क्षेत्रमै पुगेका गायक दुर्गेश थापाले पीडित नागरिकहरूको अवस्था असह्य र दर्दनाक रहेको बताए।

बाढीमा अभिभावक गुमाएका बालबालिकाको कारुणिक अवस्था देख्दा आफूले मन थाम्न नसकेको उल्लेख गर्दै उनले सानो स्तरमा भए पनि तत्काल मद्दत पुगोस् भन्ने उद्देश्यले आफू अत्यावश्यक सहायता सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएको जानकारी दिए।

यस्तै, गायिका समीक्षा अधिकारीले बाढी प्रभावितहरूको पीडामा मलम लगाउने प्रयास गरेको बताएकी छन्। सहयोग सानो वा ठूलो हुनुभन्दा पनि दुःखका बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हुने उनको धारणा छ।

उता गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। देशवासीको दुःख र पीडामा सक्दो साथ दिनुपर्छ भन्ने भावनाका साथ आफूले योगदान गरेको उनले उल्लेख गरेकी छन्।

यस विपद्को समयमा कलाकारहरू व्यक्तिगत रूपमा मात्र नभई संस्थागत रूपमा समेत सहारा बनिरहेका छन्। बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार पाँच सय ५५ सहयोग उपलब्ध गराएको समाजका अध्यक्ष एवं गायक वसन्त थापाले जानकारी दिए।

हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको सम्मुखमा देशले व्यहोरिरहेको यस महाविपत्तिलाई ध्यानमा राख्दै कतिपय कलाकारहरूले देश तथा विदेशमा तय गरिएका तीज विशेष सांगीतिक कार्यक्रमहरू समेत स्थगन गरेका छन्।

सामूहिक दर खानेलगायत तीजका मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगन गरी त्यसमा हुने खर्चलाई बाढी प्रभावितहरूको सहयोगार्थ पठाउने क्रम पनि बढ्दो छ।

यसै क्रममा प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गर्न लागेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरेको छ।

समूहले उक्त कार्यक्रमका लागि संकलित एक लाख बाढी प्रभावितहरूको राहतका लागि खर्च गरेको र बागलुङबाट राहत सामग्री लिएर समूहको टोली प्रभावित क्षेत्रमै पुगेको अध्यक्ष रोहित सुनारले जानकारी दिए।

भोटेकोशी र त्रिशूलीको भीषण बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिले यतिबेला सिङ्गो मुलुक आक्रान्त बनेको छ। बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट स्वतःस्फूर्त रूपमा सहयोग जुटिरहेको छ।

संकलित राहतलाई प्रभावकारी र व्यवस्थित बनाउन राज्यका निकायहरूमार्फत ‘एकद्वार प्रणाली’ अनुसार वितरण गर्ने सहजीकरण भइरहेको छ भने सरकारी निकायहरूसँगै जनस्तरबाट पनि राहत अभियानमा उल्लेख्य अग्रसरता देखाइएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App