१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सहयोगका पर्खाइमा कलाकार निर्मोही

तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ। तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुझ्दै छन्।

दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी लामो समयदेखि नेपालगञ्ज - १० स्थित आफ्नै घरको ओछ्यानमा सीमित छन्। कुनै बेला रेडियो कार्यक्रम सञ्चालन गर्दा जोसिलो आवाजले सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ। स्वर अहिले पीडाले भरिएको छ। शरीर कमजोर भइसकेको छ। हिंडडुल गर्न सक्दैनन्। रेडियो नेपाल र नेपालगञ्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरूमा उनले लामो समय काम गरे।

निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरे। स्रोताको मन छुने लोकगीत गाएर स्थानीय कलाकारलाई पनि मञ्चमा ल्याउन सहयोग गरे। उनका गीतहरू पश्चिम नेपालको गाउँघरमा आज पनि गुञ्जिन्छन्। उच्च रक्तचाप र सुगरले सताउँदै जाँदा पछि मिर्गौलाले काम गर्न छोडेको उनले बताए।

“छ महिनादेखि उपचारमै छु तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैन”, कलाकार निर्मोहीले भने, “जीवनभर म बोलिरहें, अब सबै मौन छन्, मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणमा उपचारका लागि सहयोगको हात बढोस्।”

उनको परिवारले सम्भव भएसम्म सबै प्रयास गर्‍यो तर अब खर्च धान्न सक्ने स्थिति छैन। नेपालगञ्जस्थित भेरी अस्पतालमा हप्तामा दुई पटक उनले डायलाइसिस गर्दै आएका छन्।

कलाकार निर्मोहीले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, स्रोता र दाताहरुसँग सहयोगको आग्रह गरे। दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगञ्जमा बस्छन्।

कलाकार निर्मोहीको योगदानको कदर गर्दै निर्मोहीलाई सम्झिने वातावरण बनाउनेदेखि उपचारमा सहयोग जुटाउने प्रयासमा आफूहरू लागिपरेको स्थानीय बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाहले बताए।

 निर्मोहीलाई सहयोगार्थ ‘तिहारका रङहरू’ मिर्गाैला रोगबाट पीडित कलाकार कमल विके निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा ‘तिहारका रङ्गहरू’ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

बागेश्वरी असल शासन क्लबको आयोजनामा उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले तिहारका मौलिक संस्कृति र मान्यता प्रवर्द्धन गर्दै गएराति ‘तिहारका रङहरू’ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सामूहिक देउसीभैलो, सांस्कृतिक प्रस्तुति, नृत्य, नाटक लगायत प्रस्तुतिहरू गरिएको थियो। स्थानीय फरकफरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुगेका कलाकार निर्माेहीले सहयोगी हातहरू अघि बढेको देख्दा खुसी लागेको बताए।

कार्यक्रममा गायक सुनीलसिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाईं, कलाकार श्यामानन्द सिंह, जितबहादुर थापा, सन्तोष सोतीमगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनरअप सुरज सिञ्जाली मगर, डान्सर रुविना अधिकारी, मौसमी रानामगर, आरुसी मगर र एक्टिङ स्टार नवीना रानाभाट लगायतको प्रस्तुति रहेको थियो।

प्रकाशित: ५ कार्तिक २०८२ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App