भारतीय टेलिभिजन ‘भाभी जी घर पर है’ की फेम शिल्पा शिन्देको हालैको एक बयानपछि ठुलो विवाद उठेको छ। भारतीय मिडियाका अनुसार अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग घटनामा हस्तक्षेप गरी कानुनी कारबाहीको माग गरेको छ।
शिल्पाले कमेडियन भारती सिंहसँगको अन्तर्वार्तामा ‘भाभीजी घर पर हैं’ टेलिभिजनका निर्माताविरुद्ध आफूले यौन उत्पीडनको झुटो मुद्दा दर्ता गराएको स्वीकार गरिन्। उनले विवाद सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी रहेको पनि बताइन्।
एसोसिएसनले जारी गरेको आधिकारिक सूचनामा यौन उत्पीडनजस्ता गम्भीर आरोप झुटा रूपमा लगाउँदा सम्बन्धित व्यक्तिको प्रतिष्ठा, करियर, परिवार र मानसिक अवस्थामाथि गम्भीर असर पर्ने उल्लेख गरेको छ। संगठनले यस्ता घटनाले वास्तविक पीडितहरूको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने र न्यायको खोजीमा अगाडि आउनेहरूलाई असर पार्ने जनाएको छ।
सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि शिल्पा शिन्देले इन्स्टाग्राममार्फत आफ्नो प्रतिक्रिया दिएकी छिन्। उनले आलोचकहरूलाई लक्षित गर्दै 'डाह गर्नेहरू डाह गरिरहून्' भन्ने सन्देश पनि दिएकी छिन्।
शिल्पा शिन्देले सन् २०१५ मा लोकप्रिय टिभी शो ‘भाभीजी घर पर हैं’ मा अंगुरी भाभीको भूमिका निर्वाह गरेकी थिइन्। एक वर्षपछि उनले कार्यक्रमका निर्माता र निर्माण टोलीविरुद्ध गम्भीर आरोप लगाउँदै उजुरी दर्ता गरेकी थिइन् र कार्यक्रम छोडेकी थिइन्।
हालैको पोडकास्टमा शिल्पाले भनिन्, 'मैले आफ्ना निर्माताविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराएकी थिएँ, किनकि त्यतिबेला मसँग अर्को विकल्प थिएन। सम्झौता सम्बन्धी विवाद समाधान गर्न मैले त्यो कदम चालेकी थिएँ र पछि समझदारीमार्फत त्यो अवस्थाबाट बाहिर निस्किएँ।'
उनले आफू कानुनी पृष्ठभूमिबाट आएको दाबी गर्दै प्रहरीले एफआईआर दर्ता गर्न गम्भीर आरोप उल्लेख गर्नुपर्ने सुझाव दिएको उनले अन्तर्वार्तामा स्वीकारेकी छिन्।
प्रकाशित: २४ जेष्ठ २०८३ १३:०२ आइतबार





