१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

हेक्का राख्ने हो कि!

कविता

यो देश नेपाल लखेटिनेहरूको देश हो

यहाँबाट राजाहरू लखेटिए

प्रधानमन्त्रीहरू हेलिकप्टरमा लखेटिए

धेरै शासक लखेटिए

दरबार हत्याकाण्डको नाममा

कोतपर्वको नाममा

भण्डारखाल पर्वको नाममा

सुगौलीसन्धिको नाममा।

लखेटिनेहरूको लस्कर छ

सांसदहरू, मन्त्रीहरू,

गाउँका, जिल्लाका, प्रदेशका ठूला मान्छेहरू

लखेटिएको देश हो

ठूलाबडाहरू भागेको देश

कोही ज्यान मारेको अभियोगमा,

कोही आन्दोलन दबाको अभियोगमा

कोही अधिक सम्पति कमाएर,

कोही अन्याय/अत्याचार गरेर लखेटिएको देश हो

राजाहरू लखेटिए

राणाहरू लखेटिए

पञ्चेहरू लखेटिए

काङ्ग्रेसहरू लखेटिए

कम्युनिष्टहरू लखेटिए

यहाँ लखेटनेहरू पनि छन्

जातको नाममा

धर्मको नाममा

विवाहको नाममा

प्रजातन्त्रको नाममा

लोकतन्त्रको नाममा

समाजवादको नाममा

जेन - जीको नाममा

सरकारको नाममा

हिजो लखेटनेहरू आज लखेटिएका छन्

हिजो आरोप लगाउनेहरू आज आरोपित छन्

हिजोका हत्याराहरू हत्याकै सिकार भएका छन्

हिजो भ्रष्टचारको विरोध गर्नेहरू

आज भ्रष्टचारी ठहरिएका छन्

हिजो आन्दोलनका पक्षधरहरू

आज विरोधी बनेका छन्

हो, यो देश लखेटनेहरूको देश हो

यो देश लखेटिनेहरुको देश हो

यहाँ,

राजनीतिको नाममा लखेटिन्छ

भ्रष्टाचारको नाममा लखेटिन्छ

सम्पत्तिको नाममा लखेटिन्छ

शिक्षाको नाममा लखेटिन्छ

विकासको नाममा लखेटिन्छ

डिभीको नाममा लखेटिन्छ

एने केने प्रकारेण,

एनि हाउ, यहाँबाट लखेटिन्छ

शासक र शासित

धनी र गरिब

शिक्षक र विद्यार्थी

खोजकर्ता र अनुसन्धानकर्ता

रोजगार र बेरोजगार

सबै लखेटने देश हो

कसैले कसैलाई धाक नदिए हुन्छ

म हुँ र तँ हुँ नभने हुन्छ

हिजो लखेटनेहरू आज लखेटिएका छन्

आज लखेटनेहरू भोलि लखेटिने छन्

यो लखेटनेहरुको देश हो

यो लखेटिनेहरूको देश हो।

प्रकाशित: १७ जेष्ठ २०८३ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App