३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नेपाली गजलकारमाझ एपेकले गर्‍याे दिलदार देहल्वी साँझ

एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा दिलदार देहल्वी साँझ,नेपाली गजलकारमाझ कार्यक्रम गरेको छ।

कवि,गजलकार एवं गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा उक्त कार्यक्रम आयोजित भएको हो ।  

उक्त कार्यक्रममा देहल्वीले'किसी तौर कोइ बहाने तो आ मोहम्बत नही दिल दुखाने तो आ' लगायत आधा दर्जन गजल पेश गरेका थिए।

कार्यक्रममा वसन्त चौधरीले 'रोज अन्दाज नयाँ हुस्न ने दिखलाया हे' लगायत केही थान गजल सुनाए।

साँझ ढल्दै जाँदा गजलको महफिल पनि झन जम्दै थियो।  

यसैक्रममा घनेन्द्र ओझा भन्दैथे, 'यस्तो जुलुम नगर्नु दोषी म बन्न सक्छु।' इम्तिहाज बफा के कम,'बस यहि सोच के हम और भी घबराने लगे' लगायतका अन्य गजल पस्के । जय पौडेलले 'मन थियो एउटा मसंग बाँकी त्यो पनि उनलाई दिएर आएँ' भन्ने गुनासो गर्दै थिए ।

साँझ धमिलिंदै थियो अध्याँरो भएर । गजलकारहरु निरन्तर गजल पस्केर माहौल जमाउँदै थिए । यसै क्रममा विन्टु केसीको पालो आयो। गजल सुन्दा यस्तो लाग्थ्यो गुनासा नै गुनासाले मन भरिएको छ । तर पनि उनी भन्दै थिइन,'गुनासोलाई थाती राखी बात गरौं।' शान्ति शर्माको गजल उस्तै बेजोड थियो । रवि प्राञ्जल गुनासो गर्दै थिए,'कागज भए मजबुद हुन्थें फलाम भएर गल्ती गरें' ।

सानो तर उल्लेख्य गजलकारहरुको जमघट । माहोल उल्लासमय थियो । धिरेन्द्र महर्षी पनि के कम उनले हामी सबैको दैनिकी बनेको मोबाइलमाथि गजल प्रहार गरे, 'मेरो साथी मोवाइलले जे कुरा नि जान्दोरैछ ।' सामयिक थियो उनको गजल । रुपक बनवासी,प्रेम प्रमोद ढकाल लगायतले पनि गजल पेश गरेका थिए।  

कार्यक्रममै जीवनमा सधैं दुःख आएको भन्दै सुख पाउने कहिले भन्दै गजल वाचन गरे,'दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ' भन्दै थिए करुण थापा।

प्रमुख अतिथि चौधरीले दिलदारसंगको मञ्च साझा गरेको एक दशकभएको स्मरण गर्दै भने,"दिलदार जस्ता छन्,लेखनीमा उस्तै राम्रा लेख्छन् र त्यतिनै राम्रो बोल्छन् ।" जिन्दगी माग्दैमा सकिने भन्दै उनले भने,"कहिले आफन्तसंग प्रेम माग्छौं,कहिले उपरवालासंग दुवा माग्छौं । राम्रो काममा मेरो तर्फबाट साथ,समर्थन र सहयोग रहनेछ।"

यसअघि एपेकका कार्यकारी निर्देशक,कवि राजेन्द्र शलभले समेत मन्तव्य राखे।

सोही कार्यक्रममा देहल्वीलाई दोसल्ला र सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो । कार्यक्रममा गजल बाचन गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।

सभाध्यक्ष,आयोजक संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठले एपेक नेपाल विगत २७ वर्षदेखि समकालीन साहित्यका क्षेत्रमा विभिन्न विचारबिमर्श सहितका कार्यक्रमहरुमा अविरल लागिरहेको जानकारी दिए । उनले चैतमा वार्षिक उत्सवमा गजलको एक कृति पुरस्कृत हुने पनि बताए।  कार्यक्रमको सहजीकरण धिरेन्द्र महर्षीले गरे।  

प्रकाशित: १ असार २०८३ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App