निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’ को घोषणा भएको छ। उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।
उनकै भाइ विशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’ मा सहकार्य गरेका थिए। उनीहरूको यो तेस्रो सहकार्य हो। निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।
केपी फिल्मस्का व्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायांकनमा जानेछ। फिल्मको घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताइन्।
‘पारसको बारेमा भन्नुपर्दा पहिलो पटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,‘निर्देशक कृषाले फिल्मबारे जानकारी दिदै भनिन्,‘यही हो अहिले जानकारी दिन मिल्ने। पछि भेट्ने फेरि बहानै हुँदैन।’
यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षबारे बिस्तारै जानकारी दिने निर्देशक कृषाले बताइन्।
उनले थपिन्,‘यो फिल्मलाई पुरुषोत्तम दाइले खिच्दै हुनुहुन्छ। मैले निर्देशन गर्दैछु।’
निर्माता विशाल चौलागाइँले दिदीको जन्मदिनमा फिल्म निर्माणको गर्ने योजना बनाएको बताए। साथै उनले पिताम्बरमा भएको गल्तीहरू अब निर्माण हुने फिल्म ‘पारस’ मा सुधारिने बताए। ‘अघिल्लो वर्ष हामीले उहाँ (कृषा)लाई गिफ्ट नै दिएको हो। उहाँको सुटिङ हुँदा हुँदै हामीले सेलेब्रेट गरेका थियौँ,’निर्माता बिशालले भने,‘सबैलाई थाहै छ कस्तो भाको थियो भन्ने।
सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनाका साथै नयाँ फिल्मका लागि शुभकामना दिए। निर्माण पक्षले यो फिल्मको रिलिज घोषणा भने गरेको छैन। कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐचोपैचो’ हो। जुन समीक्षात्मक हिसावले सफल मानिएको थियो।
प्रकाशित: १९ भाद्र २०८२ १०:०६ बिहीबार





