२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सहरका दर्शकलाई ‘मितज्यू’ मार्फत गाउँठाउँकै कथा देखाउँदै अनिल

गएका वर्षको ब्लकबस्टर सिनेमाका निर्देशक हुन्, अनिल बुढा मगर । मगर समुदायको संस्कार र संस्कृतिभित्र सुटुक्क प्रेम कथा मिसाएर अनिलले सुन्दर सिनेमा ‘घर ज्वाइँ’ बनाएर ६ करोड रुपैयाँ घरेलु बक्सअफिसबाटै कलेक्सन गरेका थिए।

उनै निर्देशक अनिल फेरि अर्को सिनेमा लिएर आएका छन् । र, त्यो सिनेमा हो– ‘मितज्यू’ । अनिलको सिनेमाको ग्राफ हेर्दा उनी ग्रामीण भेगका कथालाई टपक्क टिपेर त्यसको सिनेमाको फ्रेममा सुटुक्क उनेर दर्शकमाझ सुन्दर सिनेमा ल्याउने कुशल निर्देशक हुन्।  

हुन त ‘मितज्यू’ उनको दोस्रो फिचर फिल्म हो । तर, तर यो सिनेमाको कथा ट्रेलरमा हेर्दा ग्रामीण परिवेशको कथालाई उठान गरेका छन् । मित लगाउने चलन नेपालमा नौलो होइन । जनजाति होस् वा क्षेत्री–बाहुन समुदाय, पूर्व होस् वा पश्चिम, सबैतिर मित लगाउने चलन छ।

यही नेपाली कल्चरलाई उनले टपक्क टिपेर, यसलाई सिनेमाको रुप दिएका छन् । मित लगाउँने संस्कार, मित लगाएपछि निभाउनु पर्ने औपचारिकता र व्यवहारले उक्त परम्पराभित्र बस्न नसकेपछिको द्वन्द्व यो सिनेमामा देखिने ट्रेलरले संकेत गरेको छ।

एउटी युवतीमाथि परेको नजर र त्यसले दुई मितबीचको सम्बन्धमा ल्याउने फाटो र त्यसको चरम रुपको वरपर सिनेमा ‘मितज्यू’को कथा रहेको ट्रेलरले प्रस्ट्याउन खोजेको छ।

तर, यसभित्रको सस्पेन्स र ट्वििस्ट कस्तो छ र त्यसले कथालाई कता लैजान्छ त्यसले सिनेमालाई सुन्दर बनाउने अपेक्षा गर्न सकिन्छ।

डेब्यु सिनेमा नै हिट दिएका निर्देशक अनिलले दोस्रो चलचित्र कस्तो दिने हुन् भन्नेमा धेरैलाई चासो र प्रतिक्षा छ।

यो पटक पनि उनले मितको कथालाई रोचक बनाउन सुटुक्क प्रेम मिसाएको ट्रेलरमा देखिन्छ, जुन सिनेमाको सेलिङ पोइन्ट रहेको निर्माता जनक घर्ती मगरले बताएका छन्।  

“चलचित्रमा कथासँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने हाम्रो टिमको मान्यता छ । हामी कथासँगै हाम्रो सिनेमामा प्रेम र द्वन्द्वको पनि कुरा गछौैं,” उनले भने, “जसले चलचित्रलाई दर्शकले मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । हामी हाम्रो सिनेमा कसरी दर्शकले मन पराउने गरी आफ्नै कथा लिएर आउँदै छौँ।”

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर ९खबप०, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ।

नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्थ छ।

प्रकाशित: ३१ वैशाख २०८३ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App