७ मंसिर २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘कफी विथ करण’ शो स्क्रिप्टेड भएको आरोप

बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ माथि स्क्रिप्टअनुसार सञ्चालन हुने गरेको आरोप लागेको छ। यो विवाद भने एक्कासि आएको होइन। शोको छैटौँ एपिसोडमा पाहुनाका रूपमा सहभागी भएकी अभिनेत्री शनाया कपूरको एउटा भ्यानिटी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि यस्तो विवाद सुरु भएको हो।

तस्बिरमा टेबलमाथि ‘र्‍यापिड फायरः शनाया कपूर’ लेखिएको एउटा कागज देखिएपछि प्रयोगकर्ताहरूले शो पहिले नै लेखिएको स्क्रिप्टअनुसार सञ्चालन हुने गरेको आरोप लगाइरहेका छन्।

यद्यपि, भाइरल तस्बिरमा कागजको तल्लो भागमा साना अक्षरमा लेखिएका कुराहरू स्पष्ट रूपमा पढ्न सकिँदैन। त्यसैले उक्त कागज वास्तवमै शोको स्क्रिप्ट हो वा होइन भन्ने पुष्टि हुन सकेको छैन।

भाइरल भइरहेको तस्बिरमा शनाया कपूर मेकअप गराइरहेकी देखिन्छिन्। उनीसामु रहेको भ्यानिटी टेबलमा एउटा कागज राखिएको छ।

उक्त कागजमा ठूला अक्षरमा ‘र्‍यापिड फायरः शनाया कपूर’ लेखिएको देखिन्छ भने त्यसको तल साना अक्षरमा विभिन्न कुराहरू लेखिएका छन्।यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

धेरै दर्शकहरूले असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका छन् कि वर्षौंदेखि रमाइलो र तत्काल दिइने जवाफहरूको रूपमा हेरिँदै आएको र्‍यापिड फायर राउन्ड पनि पहिल्यै तय गरिएको स्क्रिप्टअनुसार सञ्चालन हुन्छ ?केही प्रयोगकर्ताहरूले यसलाई दर्शकहरूमाथिको धोका समेत बताएका छन्।

तर अर्कोतर्फ केही प्रयोगकर्ताहरूले च्याट शोमा पाहुनालाई पहिले नै केही विषय वा प्रश्नबारे जानकारी गराउनुको अर्थ पूरै कार्यक्रम स्क्रिप्टेड हुन्छ भन्ने नहुने तर्क गरेका छन्।भाइरल तस्बिरमा कागजको तल्लो भागमा लेखिएका साना अक्षरहरू स्पष्ट रूपमा पढ्न सकिँदैनन्।

त्यसैले उक्त कागजमा र्‍यापिड फायरका प्रश्न तथा उत्तरहरू लेखिएका थिए वा सामान्य नोटहरू मात्र थिए भन्ने कुरा आधिकारिक रूपमा पुष्टि भएको छैन।

यस विषयमा अहिलेसम्म शोका प्रस्तोता करण जोहर वा अभिनेत्री शनाया कपूरले हाल कुनै प्रतिक्रिया दिएका छैनन्।

शनाया कपूर हालै आफ्नो वेब सिरिज ‘स्टुडेन्ट अफ द इयरः आफ्टर डार्क’ को चर्चाबीच ‘कफी विथ करण सिजन ९’ को छैटौँ एपिसोडमा सहभागी भएकी थिइन्।

उक्त एपिसोडमा उनीसँगै अभिनेत्री अनन्या पाण्डे र अनन्या बिर्ला पनि पाहुनाका रूपमा सहभागी भएका थिए।

एपिसोड प्रसारण हुनुअघि शोको एउटा प्रोमो सार्वजनिक भएको थियो। उक्त प्रोमोमा अनन्या पाण्डेले आफ्ना पूर्वप्रेमीका रूपमा चर्चामा रहेका अभिनेता कार्तिक आर्यनलाई फोन गरेकी थिइन्। उक्त आनन्यासँगको कुराकानीको प्रोमोले निकै चर्चा बलुलेको थियो।

प्रकाशित: ७ मंसिर २०८३ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App