१४ आश्विन २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ। वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथिको अवसरमा कार्यक्रम गरिएको हो।

कार्यक्रमको सुरुवात श्रेष्ठप्रति अक्षरदीप प्रज्वलन, पुष्पार्पण र मौनधारणबाट गरिएको थियो। कार्यक्रममा ‘अक्षरयात्रा–दशक आठ’ वृत्तचित्र प्रदर्शनसँगै ‘६ नवकृतिः अक्षरका छ नयाँ दीप’ अन्तर्गत श्रव्यदृश्य अनावरण तथा समीक्षा गरिएको थियो। 

श्रेष्ठका कविता तथा गीत प्रस्तुत गरिएको कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरिएको थियो। कवि वसन्त चौधरीले अक्षराञ्जली, स्मृति कथन तथा रुबाई प्रस्तुत गरेका थिए। 

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतका रचनाकार श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा थुप्रै कविता तथा गीत लेखेका छन्। उनले सन् २००३ मा नेपाल भाषा परिषद्बाट जनकविको उपाधि तथा २०६७ मा जगदम्बाश्री सम्मान प्राप्त गरेका थिए।  

विसं १९९२ मा काठमाडौंमा जन्मिएका श्रेष्ठले सन् १९४९ बाट लेखन यात्रा सुरु गरेका थिए। उनको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो। उनका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। साउन ३१ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा उनको निधन भएको थियो।  

प्रकाशित: १३ आश्विन २०८३ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App