नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भू-परिवेष्ठितबाट भू-जडित उडान’ पुस्तक विमोचन गरिएको छ।
सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त पुस्तक विमोचन गर्दै नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तरराष्ट्रिय सम्पर्कको नेटवर्क विस्तार गर्न आवश्यक रहेको बताए।
उनले पर्यटनलाई केबल मनोरञ्जन वा भ्रमणका क्षेत्रका रूपमा मात्र नभई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री चन्दले नेपालको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले सिर्जना गरेका पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न पुस्तकले सहयोगी भूमिका निर्वाह गर्ने बताए।
पर्यटन बोर्डका निमित्त प्रमुखसमेत रहेका लेखक ऐरले नेपालको पर्यटन विकासलाई गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी कनेक्टिभिटी, नेटवर्किङ, नीति, पूर्वाधार, पर्यटन उत्पादन र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढाउन जरुरी रहेको बताए।
ऐरले पुस्तकमार्फत नेपालको पर्यटन विकासका सम्भावनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडेर हेर्न खोजिएको बताएका छन्। विशेषगरी उत्तर-दक्षिण करिडोर, नयाँ पर्यटकीय गन्तव्य, पर्यटन उपजमा नवीनता, क्षेत्रीय पर्यटन बजार र पूर्वाधारको विकासलाई नेपालको पर्यटनको दीर्घकालीन विस्तारसँग जोडिएको छ।
प्रकाशित: ७ भाद्र २०८३ ०७:३४ आइतबार





