पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार, हत्या तथा अन्य हिंसाका घटनाविरुद्ध राज्य र समाज एकजुट हुनुपर्ने बताएकी छन्।
हालै बारामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख र चिन्ता व्यक्त गर्दै भण्डारीले यस्तो अपील गरेकी हुन्। उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।
'यस घटनालगायत देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न म सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनले महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र सम्बन्धित विषय नभई मानवीय मर्यादा, सामाजिक न्याय र राज्यको आधारभूत दायित्वसँग जोडिएको राष्ट्रिय प्रश्न भएको बताइन्।
यस्ता जघन्य अपराधविरुद्ध राज्यका निकाय, राजनीतिक दल, महिला तथा बाल अधिकारसँग सम्बन्धित संघ-संस्था, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले घटना भएपछि दोषीलाई सजाय दिनु मात्र पर्याप्त नहुने बताउँदै बाल सुरक्षा प्रणाली सुदृढ गर्न, प्रभावकारी अनुसन्धान तथा न्यायिक प्रक्रिया सुनिश्चित गर्न र पीडित तथा परिवारलाई आवश्यक संरक्षण तथा न्याय प्रदान गर्नुपर्ने उल्लेख गरेकी छन्।
अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक संरक्षण हुन नदिने दृढ राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
भण्डारीले सबै राजनीतिक दल, तिनका भातृ तथा भगिनी संगठन, महिला तथा बाल अधिकारकर्मी, नागरिक समाज, सञ्चारमाध्यम तथा सचेत नागरिकलाई दल र विचारभन्दा माथि उठेर महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध साझा नागरिक पहलमा एकताबद्ध हुन आह्वान गरेकी छन्।
‘हाम्रा छोरीहरू र बालबालिकाको सुरक्षा, सम्मान र मर्यादाका लागि अब मौन बस्ने होइन, एकजुट भएर आवाज उठाउने र आवश्यक पहल गर्ने बेला आएको छ,’ उनले भनेकी छन्।
कुनै पनि बालिका वा महिलाले पुनः यस्तो अमानवीय पीडा भोग्न नपरोस् भन्नका लागि राज्य र समाज दुवैले गम्भीर आत्मसमीक्षा गर्दै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिएकी छन्। साथै, महिला तथा बालबालिकाको सुरक्षा र सम्मानका लागि आफूले साझा पहल तथा अभियानमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रकाशित: ७ भाद्र २०८३ ०७:०६ आइतबार

