दिल्ली उच्च अदालतले विमल इलायचीको विज्ञापनमा जोडिएका अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रफलाई महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पठाएको कारण देखाऊ सूचनाविरुद्ध दायर रिट खारेज गरेको छ ।
विमल इलायची उत्पादक कम्पनी पीबी एग्रो एलएलपीले तीनै कलाकारलाई पठाइएको सूचना रद्द गर्न माग गर्दै रिट दायर गरेको थियो । सोमबार न्यायाधीश स्वर्णकान्ता शर्माको इजलासले विवादको मुख्य सम्बन्ध महाराष्ट्रसँग रहेकाले दिल्ली उच्च अदालतमा यसको सुनुवाइको क्षेत्राधिकार नहुने ठहर गरेको हो ।
अदालतले सूचना मुम्बईस्थित महाराष्ट्र एफडीएले जारी गरेको, कथित गतिविधि तथा कानुनी उल्लङ्घन महाराष्ट्रमै भएको र सम्बन्धित ब्रान्ड एम्बेसडरहरू पनि मुम्बईका बासिन्दा रहेको उल्लेख गरेको छ । त्यसैले यस विषयमा महाराष्ट्रका अदालत उपयुक्त र सुविधाजनक न्यायिक मञ्च हुने अदालतको भनाइ छ ।
के हो विवाद ?
महाराष्ट्र एफडीएले गत अगस्ट १४ मा शाहरुख खान, अजय देवगन र टाइगर श्रफलाई विमल इलायचीको विज्ञापनमार्फत प्रतिबन्धित विमल पान मसालाको अप्रत्यक्ष प्रचार गरेको हुन सक्ने आरोपमा कारण देखाऊ सूचना पठाएको थियो ।
एफडीएले विज्ञापनमा देखाइएको विमल इलायची र प्रतिबन्धित पान मसाला फरक उत्पादन भएको प्रमाणित गर्ने कागजात पेस गर्न कलाकारहरूसँग माग गरेको थियो । साथै, विज्ञापन रोक्न र डिजिटल प्लेटफर्मबाट सम्बन्धित प्रचार सामग्री हटाउनसमेत निर्देशन दिएको थियो ।
कम्पनीले भने सूचना कलाकारहरूलाई मात्र पठाइएको, कम्पनीलाई आफ्नो पक्ष राख्ने अवसर नदिइएको र कारबाहीबाट सबैभन्दा बढी असर कम्पनीलाई पर्ने दाबी गरेको थियो । महाराष्ट्र एफडीएसँग विज्ञापन रोक्ने निर्देशन दिने अधिकार नभएको तथा विमल पान मसालाको महाराष्ट्रमा सन् २००१ देखि उत्पादन वा बिक्री नभएको जिकिर पनि कम्पनीले गरेको थियो ।
प्रतिबन्धित वस्तुको प्रत्यक्ष विज्ञापन नगरी त्यससँग मिल्दोजुल्दो अर्को उत्पादनको नाममा प्रचार गर्नु ‘सरोगेट विज्ञापन’ हो । विमल इलायचीको विज्ञापन पनि प्रतिबन्धित पान मसालाको सरोगेट विज्ञापन हुन सक्ने एफडीएको आरोप छ ।
विज्ञापनबारे कलाकारले के भनेका थिए ?
पान मसालाको विज्ञापनमा जोडिएका कलाकारको भूमिकालाई लिएर यसअघि पनि विवाद हुँदै आएको छ । शाहरुख खान र अजय देवगनले विगतमा स्वास्थ्यका लागि हानिकारक उत्पादनको विज्ञापनमा प्रतिबन्ध लगाउनुभन्दा त्यस्ता वस्तुको उत्पादन र बिक्रीमै रोक लगाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
अजय देवगनले सन् २०२२ मा आफूले इलायचीको मात्र विज्ञापन गर्ने र सरोगेट विज्ञापनको आरोप स्वीकार्य नभएको बताएका थिए । शाहरुख खानले पनि पुरानो अन्तर्वार्तामा कुनै उत्पादन हानिकारक भए सरकारले त्यसको उत्पादन र बिक्री रोक्नुपर्ने, कलाकारको कमाइ रोक्ने विषय मात्र समाधान नभएको तर्क गरेका थिए ।
प्रकाशित: २९ भाद्र २०८३ २२:०४ सोमबार





