२९ भाद्र २०८३ सोमबार
image/svg+xml
अपराध

झापाबाट नक्कली ‘रास्वपा केन्द्रीय सदस्य’ पक्राउ

प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएको भन्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा पुगेर धाक-धम्की दिने एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले उच्च राजनीतिक तथा सरकारी ओहदाको फर्जी परिचय बनाएर विभिन्न सरकारी कार्यालय, प्रशासनिक बैठक तथा शैक्षिक संस्थाहरूमा अनधिकृत प्रवेश गर्ने गरेका थिए।

उनले आफू शक्ति केन्द्रको मान्छे भएको भन्दै कर्मचारी तथा सम्बन्धित निकायहरूलाई दबाब दिने र धाक-धम्की देखाउने गरेको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानबाट उनले दाबी गरेका पद तथा जिम्मेवारीहरू सबै नक्कली र काल्पनिक भएको पुष्टि भएको झापाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीले जानकारी दिए।

नक्कली परिचय दुरुपयोग गरी अनुचित दबाब दिएको कसूरमा अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि हिरासतमा अनुसन्धान भइरहेको छ।

यसैबीच, प्रहरीले विश्वकर्माबाट कोही ठगिएको, आर्थिक लाभ लिएको वा कुनै किसिमको हानि-नोक्सानी पुगेको भए तत्काल प्रमाणसहित जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।

प्रकाशित: २९ भाद्र २०८३ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App