२ कार्तिक २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

सात वर्ष पुरानो क्लबको यस्तो घटना सम्झेर भावुक भइन् अभिनेत्री उषा रजक

पहिलोपटक बताइन् पीडा

अभिनेत्री उषा रजकले सन् २०१९ मा नेपालकै एक क्लबमा आफू बलात्कारमा परेको अनुभव सार्वजनिक गरेकी छन्। 

विश्वास गरेको साथीले आफ्नो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएको र त्यसपछि आफूले गम्भीर असर भोग्नुपरेको उनले सात वर्षपछि खुलाएकी हुन्।

उनले यस्ता घटनाबाट बच्न सहयोग पुग्ने पेय पदार्थ जाँच्ने नेल स्टिकरलगायतका सुरक्षा सामग्री नेपालमा ल्याउन व्यवसायीलाई आग्रह गरेकी छन्।

रजकले बिहीबार सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले पोस्ट गरेको नाइटनेल कस्मेटिक्स ड्रिंक टेस्ट नेल स्टिकरको विज्ञापन पुनः पोस्ट गर्दै आफ्नो अनुभव सुनाएकी हुन्। उत्पादकका अनुसार नङमा टाँसिने यो स्टिकरमा पेय पदार्थको एक थोपा राखेर केही निश्चित नशालु पदार्थको उपस्थिति जाँच गर्न सकिन्छ।

‘यो कुरा मैले पहिले नै थाहा पाएको भए हुन्थ्यो। सन् २०१९ मा नेपालकै एक क्लबमा विश्वास गरेको साथीले मेरो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएपछि म बलात्कारमा परेँ। त्यसबाट मैले भोग्नुपरेको असर लगभग ज्यानै जाने अवस्थासम्म पुगेको थियो,’ उनले लेखेकी छन्।

उनले यस्ता सुरक्षा सामग्री नेपालमा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गर्दै सबैले अझ सुरक्षित वातावरण पाउनुपर्ने बताइन्। यसअघि उक्त स्टिकरको विज्ञापन पोस्ट गर्दै एक एक्स प्रयोगकर्ताले यस्ता उत्पादनको प्रचार गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका थिए।

रजकले आफ्नो अनुभव सार्वजनिक गरेपछि एक प्रयोगकर्ताले प्रहरीमा उजुरी गरेको हो कि होइन भनेर प्रश्न गरेका छन्। 

जवाफमा उनले उनले लेखेकी छन्, ‘मैले प्रहरीमा उजुरी गर्न सकिनँ। आफू बलात्कारमा परेको कुरा स्वीकार गर्नसमेत मलाई वर्षौं लाग्यो। मैले आफैँलाई दोष दिएँ, लाज महसुस गरेँ र अहिले पनि डर लाग्छ। हिंसाबाट प्रभावित व्यक्तिहरूले यस्तै अनुभव भोग्छन्।’

आफ्नो अनुभव पहिलो पटक सार्वजनिक गरेको बताउने रजकले अहिले पनि प्रहरीमा उजुरी नगर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गरेपछि प्राप्त माया र समर्थनप्रति उनले आभार व्यक्त गरेकी छन्। ‘मेरो पछिल्लो पोस्टपछि तपाईंहरूले देखाउनुभएको माया र समर्थनका लागि धन्यवाद। आफ्नो कथा सुनाउनु सजिलो थिएन, तर तपाईंहरूको साथले हामीले सबै कुरा एक्लै बोकेर हिँड्नुपर्दैन भन्ने सम्झायो,’ उनले अर्को एक पोस्टमा लेखिन्।

विगतको अनुभव सार्वजनिक गरेपछि प्राप्त सद्भावले आफूलाई एक्लै सबै कुरा सहनु नपर्ने महसुस गराएको बताउँदै उनले आफूलाई माया गर्न, आफ्नो ख्याल राख्न र जीवनमा अघि बढ्न पनि उनले सबैसँग आग्रह गरेकी छन्।

प्रकाशित: ३० आश्विन २०८३ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App