दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायण’ मा महत्वपूर्ण भूमिका पाएकी छिन्। ‘रामायण’ मा उनी रावणकी पत्नी ‘मन्दोदरी’ को भूमिकामा देखिने भएकी हुन्।
हालै दिएको एक अन्तर्वार्तामा उनले फिल्ममा आफ्नो भूमिका र सहकलाकार यशसँग काम गरेको अनुभवबारे खुलेर बोलेकी छिन्।
काजलका अनुसार ‘रामायण’ को पहिलो भागमा मन्दोदरीको भूमिका सीमित हुनेछ, किनकि कथाको अधिकांश भाग लंका पुग्नुअघिको घटनाक्रममा केन्द्रित छ। उनले पहिलो भागमा आफ्नो स्क्रिन टाइम कम भएको बताइन्।
उनले रावणको भूमिका निभाइरहेका अभिनेता यशको पनि खुलेर प्रशंसा गरिन्। काजलले यश अत्यन्त प्रतिभाशाली, व्यावसायिक र आफ्नो कामप्रति पूर्ण रूपमा समर्पित कलाकार रहेको बताउँदै उनीसँग काम गर्नु उत्कृष्ट अनुभव भएको उल्लेख गरिन्।
फिल्ममा रणबीर कपूर भगवान् राम, साई पल्लवी माता सीता, यश रावण तथा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने छन्।
नितेश तिवारीको निर्देशनमा निर्माण भइरहेको ‘रामायण’ दुई भागमा प्रदर्शन हुनेछ। पहिलो भाग ‘तिहार २०२६ मा र दोस्रो भाग भने अर्को वर्षको तिहारमा विश्वभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २१ असार २०८३ १३:२९ आइतबार





