२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

अभिनेता खगेन्द्र लामिछानेले बा ७८ वर्षको भएपछिमात्र जन्मदिनको शुभकामना भन्न पाए

अभिनेता खगेन्द्र लामिछानेले आफ्नो बुबाको जन्मदिन पहिलो पटक मनाएका छन् । उनले बुबाको जन्मदिन पत्ता लगाएर पहिलो पटक मनाउन पाउनुलाई जीवनकै सबैभन्दा ठूलो सफलता हात परेको झै महसुस भएको छ।  

उनले असोज २२ गते बुबालाई ७८ वर्षको हुँदा पहिलो पटक जन्मदिनको शुभकामना भन्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुसी साटेका छन् । आमाको जन्मदिन भने उनले खोजी नै रहेका छन् ।  

खगेन्द्रले फेसबुकमा लेखेका छन्, ‘बा ७८ बर्षको भएपछि मात्र यसपाली हाम्रो परिवारले बालाई जन्मदिनको शुभकामना भन्न पायौँ ।

बाका बाआमा पनि हुनुहुन्थ्यो । तीनजना दाजू र तीनजना दिदीहरु हुनुहुन्थ्यो । वहाँहरु मध्ये केही अझै पनि हुनुहुन्छ । सबै भएर पनि मेरो बाको जन्मदिन थिएन । पहिले पहिले गाउँमा जन्मदिन मनाउने खासै चलन थिएन रे । हामी अलि बुझ्ने भएपछि बाआमालाई ‘तपाईंहरुको जन्मदिन कहिले हो ?’ भनेर सोध्न थाल्यौँ । तर वहाँहरुलाई जन्मेको साल र महिना मात्र थाहा थियो, दिन थाहा थिएन । सुनेर हामी निराश हुन्थ्यौँ । तर हरेक बर्षका जन्म महिनामा हाम्रो हुटहुटी फेरि दोहोरिन्थ्यो । तर गाउँमा बाका साथीहरु अनि आफन्तहरु जोसँग सोध्दा पनि केही पत्ता लागेको थिएन । यसपाली दशैँमा घर सफा गर्दा किराले खाइवरी धुलीसाथ भइसकेको चिना भेटियो । केही घण्टाको कठीन अध्ययन (किनभने चिना हेरेर पनि खासै बुझिने अवस्थामा अलि थिएन) पश्चात् थाहा लाग्यो असोज २२ गतेको दिन मेरो बा जन्मनु भएको रैछ । यो कुरा थाहा पाएपछि मलाई व्यक्तिगत हिसावले जीवनमा ठूलो सफलता मिलेजस्तो भयो । आफुलाई जन्म दिने बाआमालाई अहिलेसम्म जन्मदिनको शुभकामना दिन नपाउँदा मलाई नरमाइलो लागिरहन्थ्यो । अब भने मैले हरेक बर्ष आश्वीन २२ गते मेरो बालाई जन्मदिनको शुभकामना भन्न पाउने भएको छु । आमाको जन्मदिनको खोजीकार्य जारी छ !’

प्रकाशित: २२ आश्विन २०८२ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App