भन्न त बाउबाजेले भन्ने गर्दथे, ‘दिशापिसाब भनेको जहाँ पायो त्यहीँ, त्यसमाथि पनि सार्वजनिकस्थल, मठमन्दिर, पानी बग्ने ठाँउ, कुलाे, नदीखाेल्सा आदिमा गर्न हुँदैन पाप लाग्छ।’
यो असभ्यताको चिन्ह पनि हो जस्तो पनि लाग्छ तर विवशतामा परेपछि के गर्नु ...!
रात्रिबसबाट अवतरण गरेपछि, रातभरिकाे बसकाे थकाइ, बिहानी भैसके पनि उपयुक्त चर्पीको अभावले दिशा समेत गर्न नसकेका शरीरले ज्यादै अप्ठ्यारो महसुस गर्दै थियो। त्यतिकैमा बसमा सँगैकाे सिटमा बस्ने साथी पनि म जस्तै निन्याउरो अनुहार लिएर म अगाडि उभिनुभयो।
मैले उहाँलाई ‘दिशापिसाब गर्ने ठाउँ कता हाेला भाइ?’ भनेर साेधेँ। उहाँले पनि "त्यही त मलाई पनि च्यापिरहेको छ ’ भनेर जवाफ फर्काउनुभयो। बस स्टप वरिपरि दुवैले घुमेर यताउति खोज्याैं। कतैतिर पनि शाैचालय भन्ने बाेर्ड र ठाउँ फेला परेन।
त्यतिकैमा उहाँ मित्रले भन्नुभयो, ‘गर्नलाई त पैसा खर्च गरीगरी मान्छे समेत टाढाटाढाबाट ओसारेर अगाडि राख्दै दुईतीन घण्टाका लागि मञ्च निर्माण गरेर, नेताहरूले ठुल्ठुला कुरा गरेर सामान्य जनतालाई चर्को स्वरमा सुनाउँछ्न्। यो पनि गर्छौ भन्छन्, त्यो पनि गर्छौ भन्छन्। अर्कालाई त्यसले केही पनि गर्दैन भनेर सत्तोसराप गर्छन् तर के गर्नु चुनाव भएर जनप्रतिनिधि चुनिएका दुईतीन वर्ष भैसक्यो तर अझै याे बस स्टप नजिक एउटा शाैचालय समेत बनाइदिएर धाराकाे व्यवस्था समेत गरेका रहेनछन्।’
त्यसपछि हामी दुवै ‘त्यस्तै हो भन्न सजिलो गर्न गाह्राे भन्दै’ आफूलाई हतार भैसक्यो भन्दै खोलाको किनारमा छिटाेछिटाे दौड्दै ‘कहिले र कहाँ पाे उपयुक्त ठाउँ पाइने हाे’ भन्दै खोलाको तीरै तीर अगाडि बढ्याै।
प्रकाशित: ७ श्रावण २०८३ १३:२१ बिहीबार





