बलिउड अभिनेता आमिर खानलाई लरेन्स बिश्नोई ग्याङको नामबाट ज्यान मार्ने धम्की दिइएको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बिश्नोई ग्याङको नाममा जारी गरिएको सामाजिक सन्जालमा भनिएको पत्र र अडियो सन्देशमा आमिर खानले हालै गौरी स्प्रैटसँग गरेको विवाहलाई ‘लभ जिहाद’ भन्दै आपत्ति जनाइएको छ।
उक्त सामाजिक सन्जालमा ग्याङको तर्फबाट देशको संस्कृति र परम्पराविरुद्ध जाने गतिविधिलाई समर्थन गर्नेहरूलाई सहन नसकिने उल्लेख गर्दै आमिर खानलाई ‘सबक सिकाइने’ चेतावनी दिइएको दाबी गरिएको छ।
यद्यपि, यस घटनाबारे मुम्बई प्रहरीले हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया दिएको छैन। साथै, आमिर खान वा उनको व्यवस्थापन टोलीले पनि यस विषयमा कुनै सार्वजनिक धारणा व्यक्त गरेका छैनन्।
यसअघि आमिर खानले आफूविरुद्ध उठेको 'लभ जिहाद' आरोपको खण्डन गर्दै आफ्ना सबै विवाह स्पेशल म्यारिज एक्ट अन्तर्गत भएको बताएका थिए। उनले आफ्नी कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको र हालकी पत्नी गौरी स्प्रैट इसाई धर्मावलम्बी रहेको स्पष्ट पारेका थिए।
आमिर खानले गत जुलाई ५ मा मुम्बईस्थित आफ्नै निवासमा गौरी स्प्रैटसँग निजी समारोहबीच विवाह दर्ता गरेका थिए। उनीहरूको विवाह स्पेशल म्यारिज एक्ट अन्तर्गत कानुनी रूपमा सम्पन्न भएको बताइएको छ।
यस विवाहलाई लिएर भारतमा केही राजनीतिक व्यक्तित्व तथा विभिन्न संगठनहरूले आलोचना गरेका छन् भने सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ।
प्रकाशित: २ श्रावण २०८३ ११:३६ शनिबार





