६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

परम्परा र प्रविधिको अद्भुत संगम

घुमफिर

२०४८ सालमा एसएलसी परीक्षा पास भएपछि नै जापान जाने अवसर पाए पनि पारिवारिक कारणले त्यतिखेर जान पाएको थिइनँ। पत्रकार महासंघ जापान शाखाको निमन्त्रण तथा पत्रकार महासंघ, केन्द्रीय समितिको समन्वयमा यस पटक भने जापान जाने सपना पूरा हुँदै थियो। बाल्यकालदेखि नै मैले जापानको विकासबारे पुस्तकहरूमा पढ्दै आएकाले मलाई जीवनमा एक पटक जापान जाने सपना भने बाल्यकालदेखि नै थियो। साउन ७ गते हामी पत्रकार महासंघको टोली जापान शाखाले आयोजना गरेको ग्लोबल मिडिया कन्फरेन्समा भाग लिन जापान लाग्यौं।

मनको एक कुनामा जापानबारे सानैदेखि पढ्दै आएको युद्धको खरानीबाट उठेको जापानलाई नजिकबाट हेर्न पाउने उत्साहले मन गदगद भएकै थियो। साथै, मैले मनमनै जापानको टोकियो, ओसाका र हिरोसिमा, विश्वकै धेरै मान्छे एकै पटक क्रस गर्ने जेब्राक्रसिङका साथै बफादार कुकुरको प्रतिमा हेर्ने योजना पनि बुनेकी थिएँ।

जापान टेकेलगत्तै मैले नारिता एयरपोर्टमा ७० वर्ष काटेका वृद्धहरूले मज्जा लिएर काम गरेको देखेँ। अचम्म लाग्यो। उनीहरू लामो दुरी पनि पैदल हिँडेको देखेँ, अझ बढी रोचक लाग्यो। त्यसपछि त्यहाँका युवाहरू भेटेँ। उनीहरूसँग कुनै पनि किसिमको सहयोग माग्दा खुसी भएको देखेँ। जापानीहरू यतिसम्म नरम–मिजाज र सहयोगी हुँदा रहेछन् कि म बसेको सिनओकुबो क्षेत्रमा रहेको शिवशक्ति मन्दिरबारे एक कार्यालयतर्फ गइरहेकी एक युवतीसँग सोध्दा तिनले मलाई आफू अफिस जाने छाडेर मन्दिरसम्मै पुर्‍याइदिइन्।

मैले तिनलाई सोधेँ, ‘तपाईंलाई कार्यालय जान ढिला भएन ? तपाईंहरू समयको महत्त्व निकै गर्नुहुन्छ नि?’ मेरो प्रश्नको जवाफमा ती युवतीले ‘मैले तपाईंलाई सहयोग गरेको कुरा मेरा हाकिमलाई भनेँ भने उहाँहरूले मलाई थप प्रोत्साहन पो गर्नुहुन्छ’ भनेको सुन्दा म आश्चर्यमै परेँ। आफ्नो कामै छाडेर सहयोग गर्नेहरू मैले नेपालमा खासै देखेको थिइनँ।

विश्वयुद्धको खरानीबाट उठेको जापान

दोस्रो विश्वयुद्धको अन्त्यतिर जापान विश्वकै सबैभन्दा ठुलो मानवीय र भौतिक विनाशमध्ये एकबाट गुज्रिएको थियो। सन् १९४५ मा हिरोसिमा र नागासाकीमा आणविक बम खसेपछि जापानले आत्मसमर्पण गर्‍यो। युद्धले जापानको उद्योग, पूर्वाधार, यातायात, आवास र अर्थतन्त्रलाई गम्भीर रूपमा क्षति पुर्‍याएको थियो। लाखौं मानिस विस्थापित र प्रभावित भएका थिए। तर यही विनाशबाट जापानले नयाँ यात्राको सुरुवात गर्‍यो।

युद्धपछि जापान अमेरिकी नेतृत्वको मित्रराष्ट्रको नियन्त्रणमा आयो। सन् १९४५ देखि १९५२ सम्म चलेको अधिग्रहण अवधिमा जापानको राजनीतिक, आर्थिक र सामाजिक संरचनामा व्यापक सुधार गरियो। सैन्यवादलाई कमजोर पार्दै लोकतान्त्रिक संस्थालाई बलियो बनाइयो। सन् १९४७ मा नयाँ संविधान लागु भयो, जसले सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था गर्‍यो र युद्ध त्याग्ने प्रतिबद्धता पनि समेट्यो।

शिक्षालाई विकासको आधार

युद्धपछि जापानले आफ्नो पुनर्निर्माणमा शिक्षालाई अत्यन्तै महत्त्वपूर्ण आधार बनायो। विद्यालय शिक्षाको पहुँच विस्तार गरियो, प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिइयो र उच्च शिक्षामा पनि लगानी बढाइयो। दक्ष जनशक्ति उत्पादन गर्ने नीति जापानको औद्योगिक विकासको महत्त्वपूर्ण आधार बन्यो। प्राथमिकतहको शिक्षा निःशुल्क रहेछ।

 नेपाली पाठ्यक्रममा आधारित एभरेस्ट इन्टरनेसनल स्कुल पुगेँ। जापानी शिक्षण सिकाइमा आधारित नेपाली पाठ्यक्रम कार्यान्वयनले स्कुलका बालबालिकाले संस्कारसहितको शिक्षा हासिल गरिरहेको देखेँ। यसले जापानमा बसोबास गर्ने नेपालीहरूले आफ्नो शैक्षिक, सामाजिक र सांस्कृतिक परम्परा संरक्षण गरिरहेको स्पष्ट हुन्थ्यो।

जापानमा साइकल चलाउने संस्कृति

छोटो दुरीका लागि निकै सुविधाजनक– घरबाट रेल स्टेसन, बजार, विद्यालय वा कार्यालयसम्म पुग्न साइकल उपयुक्त हुने भएकाले होला, जापानीहरू साइकल धेरै प्रयोग गर्दा रहेछन्।

रेलसँग जोडिएको यातायात प्रणालीमा अभ्यस्त जापानमा मानिसहरू लामो दुरीका लागि रेल र छोटो दुरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेसनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला ताल्चा लगाएको देख्दा गज्जब लाग्यो। जहाँ हजारौं वर्ष पुरानो संस्कृति र अत्याधुनिक प्रविधि एउटै समाजमा सँगसँगै अघि बढिरहेको बलियो प्रमाण देखियो।

सडक र फुटपाथको राम्रो व्यवस्था छ। साइकल चलाउन तुलनात्मक रूपमा सुरक्षित र व्यवस्थित वातावरण छ। पार्किङ सजिलो र सस्तो छ। कार पार्क गर्न ठाउँ र पैसा दुवै चाहिन्छ तर साइकलका लागि पार्किङ तुलनात्मक रूपमा सहज रहेछ।

साइकल महँगो कारभन्दा किफायती हुने नै भयो। इन्धन, पार्किङ, बिमा र मर्मत खर्चका कारण छोटो दुरीमा साइकल आर्थिक विकल्प रहेको जापानीहरूसँगको भेटमा थाहा पाएँ। अनुशासन र नियम पालना जापानको विशेषता नै हो। जापानी समाजमा सार्वजनिक स्थान र यातायातका नियम पालना गर्ने संस्कार भएकाले साइकल र पैदलयात्रीबिचको आवागमन पनि व्यवस्थित हुन्छ।

उद्योगबाट आर्थिक चमत्कारसम्म

१९५० को दशकपछि जापानको अर्थतन्त्र तीव्र गतिमा विस्तार हुन थालेको इतिहास छ। कोरिया युद्धका क्रममा जापानी उद्योगले ठुलो मात्रामा उत्पादनसम्बन्धी अवसर पाए। त्यसपछि जापानले कपडा, इस्पात, जहाज निर्माण, विद्युतीय सामग्री, क्यामेरा, मोटरगाडी र मेसिनरी उत्पादनमा आफ्नो क्षमता विस्तार गर्दै गएको विभिन्न लिखतहरूमा उल्लेख छ।

जापानको औद्योगिक सफलताको एउटा महत्त्वपूर्ण विशेषता थियो– कम स्रोतबाट बढी मूल्य सिर्जना गर्ने क्षमता। उत्पादनमा गुणस्तर नियन्त्रण, अनुसन्धान, दक्षता र निरन्तर सुधारलाई प्राथमिकता दिइयो। सानो–सानो सुधार गर्दै निरन्तर उत्कृष्टतातर्फ जाने अवधारणाले जापानी उद्योगलाई विश्वव्यापी प्रतिस्पर्धामा बलियो बनाउँदै गएको हो। टोकियोको व्यस्त सडकदेखि क्योटोका शान्त मन्दिरसम्म, जापानमा आधुनिकता र परम्पराको फरक संसार एकैपटक देख्न सकिन्छ।

अनुशासन जापानी समाजको पहिचान

जापानी समाजको सबैभन्दा चर्चित विशेषता अनुशासन हो। समयको सम्मान, सार्वजनिक स्थानमा शान्त व्यवहार, सरसफाइ र आफ्नो जिम्मेवारीप्रतिको प्रतिबद्धता जापानी जीवनशैलीका महत्त्वपूर्ण पक्ष हुन्। रेलमा यात्रा गर्दा होस् वा कार्यालयमा काम गर्दा, व्यक्तिगत स्वतन्त्रतासँगै अरूको अधिकार र सुविधालाई पनि ध्यान दिने संस्कार देखिन्छ। यही सामाजिक अनुशासनले जापानलाई व्यवस्थित देशका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको अनुभव म आफैंले गर्न पाउँदा मन हर्षित बन्यो। आफ्नो कारण अरूलाई दुःख नहोस् भन्नेमा जापानीहरू निकै सचेत रहेछन्।

पुरानो संस्कृति, नयाँ पुस्ता

जापानको अर्को महत्त्वपूर्ण पक्ष यसको संस्कृति हो। चिया समारोह, किमोनो, मन्दिर, बौद्ध तथा शिन्तो परम्परा, सामुराई इतिहास, मौसमी पर्व र जापानी खानाले देशको सांस्कृतिक पहिचान निर्माण गरेका छन्।

त्यसैगरी एनिमे, मंगा, गेमिङ र पप संस्कृतिले जापानलाई विश्वका युवामाझ अझ लोकप्रिय बनाएको छ। यसरी जापानले आफ्नो पुरानो सांस्कृतिक पहिचान जोगाउँदै नयाँ पुस्ताको रुचिसँग पनि आफूलाई जोडिरहेको छ।

बुढ्यौली समाज र जनशक्तिको चुनौती

जापानको विकाससँगै केही गम्भीर सामाजिक चुनौती पनि छन्। वृद्ध जनसंख्या बढ्नु, जन्मदर घट्नु र श्रमशक्तिको अभाव जापानका दीर्घकालीन चुनौतीमध्ये हुन्। त्यसैले जापानले पछिल्लो समय प्रविधि, रोबोटिक्स, उत्पादकत्व वृद्धि र विदेशी श्रमिकको भूमिकालाई पनि महत्त्व दिन थालेको छ।

हाचिकोको कथा

मलाई जापानको एक स्टेसनमा बफादार कुकुरको प्रतिमामा रहेको कथा गुणराज दाइले सुनाउनुभएको थियो। मलाई त्यो कुकुरको प्रतिमा हेर्न निकै मन थियो। जापान पुगेपछि जापानमा कुकुरप्रतिको मानिसको भावनात्मक सम्बन्ध बुझाउने सबैभन्दा प्रसिद्ध उदाहरण हाचिको हो।

टोकियोको सिबुया स्टेसनमा आफ्नो मालिकलाई लामो समयसम्म कुरिरहने हाचिकोको कथा जापानमा निष्ठा र बफादारीको प्रतीक बनेको छ। आज पनि सिबुया स्टेसनमा हाचिकोको प्रतिमा हेर्न मानिसहरू पुग्ने र लाइन लागेर फोटो खिच्ने गरेको देखेँ। मैले पनि यो अवसर लिएँ। फोटो खिचेँ। त्यसलगत्तै सँगै रहेको विश्वप्रसिद्ध शिबुया जेब्रा क्रसिङमा पनि सडक पार गरेँ। एकैपटक हजारौं मानिसले पार गरेको देख्दा रोचक लाग्यो।

एउटै संकेतमा सयौं मानिसको सुरक्षित यात्रा

सडकमा एकैपटक सयौं मानिसले बाटो काटेको दृश्य देख्दा मलाई अचम्म लाग्यो। तर जापानका व्यस्त सहरहरूमा यस्तो दृश्य सामान्यजस्तै देखिन्छ। विशेषगरी टोकियोको शिबुया क्षेत्रको शिबुया क्रसिङ विश्वकै चर्चित पैदलयात्रु क्रसिङमध्ये एक हो। ट्राफिक बत्ती रातो भएपछि विभिन्न दिशाबाट मानिसहरू जेब्राक्रसिङमा प्रवेश गर्छन् र केही सेकेन्डमै ठुलो भिडले सडक पार गर्छ।

यसको विशेषता मानिसको संख्या मात्र होइन, व्यवस्थित रूपमा ठुलो भिडले सडक पार गर्नु रहेको देखियो। पैदलयात्रुको बत्ती बल्दा सवारीसाधन पूर्ण रूपमा रोकिन्छन्। त्यसपछि मानिसहरू अगाडि, पछाडि, दायाँ र बायाँबाट सडकमा प्रवेश गर्छन्। भिड बाक्लो भए पनि अधिकांश मानिस आफ्नो गतिमा हिँड्छन् र अरूलाई ठक्कर नदिई सहज रूपमा बाटो काट्ने दृश्य गज्जबको लाग्यो।

नेपालका लागि जापानबाट सिकाइ

नेपालका लागि जापान केवल रोजगारी वा अध्ययनको गन्तव्य मात्र होइन, अनुशासन, विकास र व्यवस्थापनबाट सिक्ने महत्त्वपूर्ण देश पनि रहेछ। सार्वजनिक यातायातको व्यवस्थापन, विपद् व्यवस्थापन, सरसफाइ, समयपालना, प्राविधिक शिक्षा, उत्पादनमुखी सीप र स्थानीय स्रोतको उपयोग नेपालका लागि उपयोगी उदाहरण बन्न सक्छन्।

जापानको ९ दिनको भ्रमणबाट मैले सिकेको महत्त्वपूर्ण कुरा देशको विकास केवल ठूलो बजेट वा ठूला परियोजनाबाट हुँदैन। अनुशासन, सीप, प्रविधि, मेहनत र दीर्घकालीन सोच पनि उत्तिकै आवश्यक हुन्छ।

आजको जापान त्यसैले केवल आर्थिक रूपमा विकसित राष्ट्रको उदाहरण होइन, परम्परालाई जोगाउँदै आधुनिकतातर्फ अघि बढ्न सकिने सम्भावनाको उदाहरण पनि हो। यसकारण हामी नेपालीहरूले आधुनिकतासँगै आफ्ना परम्परा, रीतिरिवाज र संस्कारलाई पनि साथमा लिएर हिँडेमात्र वास्तविक रूपमा विकसित राष्ट्रको सपना साकार पार्न सक्छौं।

प्रकाशित: ६ भाद्र २०८३ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App