निबन्ध र कविता विधामा बढी विस्तारित र लोकप्रिय हुँदै आएको नेपाली हास्यव्यङ्ग्य नाटक एकाङ्की, उपन्यास र कथा जस्ता आख्यानिक विधामा भने एकदम न्यून छ। नेपाली हास्यव्यङ्ग्यमा गद्याख्यानको आरम्भ शक्तिवल्लभ अर्यालको ‘हास्यकदम्व’बाटै भएको मानिए पनि कविता र निबन्ध विधामा यो जति विस्तारित भएको छ, त्यसको तुलनामा गद्याख्यान किन टाक्सियो होला? खोजअनुसन्धान एवं विश्लेषणको अर्को पाटो हुँदै हो।
यसरी आख्यानिक व्यङ्ग्यतिर धेरैको त्यति ध्यान गएको र जाँगर पाखिएको देखिँदैन। २००८ सालमै चापागाइँको कथासङ्ग्रह ‘रसभरि चमचम’ प्रकाशित भएको भेटिए पनि यता आएर हास्यव्यङ्ग्यात्मक कथा कमै लेखिएका छन्। नाटक प्रहसनहरू मञ्चमा वा रेडियोमा मञ्चित र प्रशारित भए पनि थोरै मात्र प्रकाशित छन्। तथापि २०२६ सालमै गोपालराज पन्तका ‘शेतो शालिग्राम’ र कर्के आँखा’ २ प्रहसनसङ्ग्रह प्रकाशित भए। मञ्चमा अत्यन्त लोकप्रिय मदनकृष्ण र हरिवंशका प्रहसनहरूको सङ्ग्रह ‘महसन’ पनि यसतर्फको महत्त्वपूर्ण प्राप्ति हो।
केशवराज पिँडाली र भैरव अर्यालका केही निबन्ध कथात्मक ढाँचाका देखिए पनि तिनलाई निबन्ध नै मानेर आइयो। कथा संरचनामै देखिने रमेश विकलका केही व्यङ्ग्यात्मक कथारचना ‘श्रीमानजी भन्नुहुन्छ’ (२०८०) सङ्ग्रहमा निबन्धकै कोटिमा गणना गरी समावेश गरिएको छ। पछिल्लो चरणमा रामकुमार पाँडेको ‘हास्यकथा’ सङ्ग्रहको रूपमा प्रकाशित छ।
२०६२ मा प्रकाशन आरम्भ भएको फित्कौली मासिकको केही अङ्कमा रामकुमार पाँडेको ‘श्यालको सफर’ हास्यव्यङ्ग्य उपन्यासका केही अंश धारावाहिक रूपमा प्रकाशित भए। त्यो पनि सिङ्गै उपन्यास कृतिका रूपमा प्रकाशित भएको देखिन्न। भर्खरै मात्र माणिकरत्न शाक्यको संकलन तथा सम्पादनमा भुँडीपुराण प्रकाशनबाट ‘व्यङ्ग्यविनोदी कथाहरू’ को सङ्कलन प्रकाशन भएको छ। यस कृतिमा कृष्णप्रसाद चापागाईंदेखि गायत्री लम्सालसम्मका ४९ हास्यव्यङ्ग्यकारका ४९ कथा समेटिएका छन्। त्यसैगरी तनहूँका व्यङ्ग्यशिल्पी मरूभूमि नारायणको हास्यव्यङ्ग्य उपन्यास कृति ‘थुतुनो’ पनि भर्खरै प्रकशित भएको छ।
यसै मेसोमा हास्यव्यङ्ग्यात्मक कथाहरूको एउटा कुटुरो बोकेर आएका छन् भोजराज रेग्मी ‘मुखाले’। मुखालेका २ दर्जन जति हास्यव्यङ्ग्य कविता र १ दर्जन भन्दा बढी कथात्मक व्यङ्ग्य रचना फित्कौली डटकममा प्रविष्ट छन्। फित्कौलीमा प्रविष्ट भएका, अन्यत्र प्रकाशित भएका र प्रकाशित नै नभएका समेत बटुलबाटुल पारेर पौने ३ दर्जन हास्यव्यङ्ग्यात्मक कथाहरूको सङ्ग्रह तयार भएको छ ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’।
मुखालेका लघुआयामका केही कथा र अलि लामो आयामका कथाहरू समेत यस सङ्ग्रहमा समेटिएको छ। कथामा वर्णित विषयवस्तु हाम्रो सामाजिक जीवन, बिग्रँदो राजनीतिक पर्यावरण, विघटित हुँदै गएका हाम्रा मूल्य र मान्यता, हाम्रो मनोविज्ञानमा जबरजस्त प्रवेश भएको मानवद्वेषी चरित्रतिर केन्द्रित छ।

सङ्ग्रहका सबै कथा हास्यप्रधान नभए पनि धेरैजसो कथामा वर्णित कथानक, पात्रहरूको चरित्र र संवादमा प्रक्षेपित भाव हास्यप्रधान र मनोविनोदी किसिमको पाइन्छ।
कथाको विषयवस्तु, परिवेश कथानकसँग अत्यन्त तादात्म्य राख्ने पात्रहरूको नामकरण गरी थपक्क राखेर हास्य सिर्जना गर्न मुखाले सिपालु देखिन्छ। कथामा कतै ‘भजनलाल भगौडा’ भेटिन्छन्, कतै ‘मार्सीराम गफाडी’ देखिन्छन्। कतै जहरसिं राई र कुइभीरे कान्छाहरू फेला पर्छन्। ‘गबुल्लेको बिहे’ कथाको गबुल्ले, ‘बखतेको सपना‘ कथाको बखते, ‘देखाउने दाँत’ कथाको हाकिम, ‘सरकारी सिट’को माड्साप माधव जस्ता पात्रहरूको तदनुरूपकै चरित्र निरूपण गरेर मुखालेले प्राय हरेक कथामा हास्योत्पति गर्दै व्यङ्ग्य बजारेका छन्।
‘मुखियाको हात्तिदान’, ‘बखतेको सपना’, ‘भगवान र भेडाहरू’, ‘देखाउने दाँत’ जस्ता कथाहरूमा शक्तिशाली व्यङ्ग्य प्रहार देखिन्छ भने सङ्ग्रहमा परेका लघुआकारकै कथामा पनि हास्यमिश्रित सशक्त व्यङ्ग्य प्रक्षेपण प्रभावशाली देखिन्छ।
‘चन्द्रकलाको रहरको ... माथि छोरीहरूको हीनताबोधको पिँडुलो’, ‘माष्टरको चल्ती मनले आफ्नै मुद्दती मनलाई सोध्यो’ जस्ता नवीन टुक्काहरूको प्रयोगयत्रतत्र फेला पर्छन्। यसले पनि मुखालेमा रहेको शब्दशिल्प तथा कौशललाई राम्रोसँग प्रकट गरेको अनुभूति हुन्छ।
भोजराज मुखालेको ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यानात्मकसङ्ग्रह नेपाली हास्यव्यङ्ग्यको आख्यान फाँटमा एउटा महत्वपूर्ण प्राप्ति हो। मुखालेले यस कृतिलाई प्रकाशन गरी हास्यव्यङ्ग्यका पाठकसमक्ष पुर्याउने अवसर दिएका छन्। उनको सेवा निवृत्त जीवन फित्कौलीसँगै खित्कौलीमय बन्न सकून्, हार्दिक शुभेच्छा।
प्रकाशित: १५ आश्विन २०८२ ११:०५ बुधबार





