‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ काे वार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको चयन भएकाे छ।
केन्द्रका अध्यक्ष लता केसीको अध्यक्षतामा लघुकथा गान बजाएर हाम्रो लघुकथा केन्द्र, नेपालको तेस्रो वार्षिक साधारण सभाकाे उद्घाटन गरिएको हाे। कार्यसमितिका सदस्य दामोदर अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई शब्दमार्फत स्वागत गरेका थिए।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले सत्यभित्रको सत्य चिर्दै साहित्यिक विकृतिबारे विचार व्यक्त गरेका थिए।
उक्त सभामा विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी, डा. भरतकुमार भट्टराई, गङ्गा पौडेल कर्माचार्य, तुलसीहरि कोइराला र नवराज रिजालले लघुकथाको क्षेत्रमा केन्द्रले पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू र सदस्यहरूलाई मायाको चिनो र आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ का संस्थापक तथा कार्यक्रमका अध्यक्ष केसीले कार्यक्रम सफल बनाउन लागिपरेका शुभेच्छुक सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
संस्थाका सदस्य वन्दना घिमिरे र सहसचिव पौडेल बिमुन्सले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमको दोस्रो चरण बन्द सत्रमा सचिव रामराजा केसीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सत्या अधिकारीले आर्थिक प्रतिवेदन र अध्यक्ष लता केसीले प्रस्तावना प्रस्तुत गरेका थिए। उक्त सभामा केही महत्त्वपूर्ण विषयमा छलफल र निर्णयहरू गरिएको थियो।
२०८० साल असोज १३ गते गठित कार्यसमितिको पदावधि समाप्त भएकाले संस्थालाई गति दिन मन्दिरा चापागाईको संयोजकत्वतामा संस्थाका कानुनी सल्लाहकार शितल सुवेदी र आजीवन सदस्य महेन्द्र नेउपानेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्य समितिको चयन गरेको छ।
डा. शेखरकुमार श्रेष्ठकाे अध्यक्षतामा हाम्रो लघुकथा केन्द्र, नेपालको नयाँ कार्य समिति चयन भएकाे छ। जसमा उपाध्यक्ष सत्या अधिकारी, सचिव रामराजा केसी, सहसचिव मिसु श्रेष्ठ र कोषाध्यक्ष मनीषकुमार शर्मा समित रहेका छन्।
त्यस्तै गरी रमेश सुवेदी, निर्मला बराल, शान्ता तिम्सिना, सुनिता निरौला पौडेल, गङ्गा दाहाल न्यौपाने र वन्दना घिमिरे सदस्यमा चयन भएका छन्।
निर्वाचन समितिले नवगठित समितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेको थियो। समितिले निर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराउँदै बधाई र सफलताका लागि शुभकामना व्यक्त गरेको थियो।
प्रकाशित: २६ आश्विन २०८२ १०:१९ आइतबार





