'छ्या...! म त पागल भइछु कि क्या हो?'
आफैँलाई भनेँ र फेरि हल्काहल्का मुस्कुराएँ। दिनभर आज मेरो हालत यस्तैयस्तै रह्यो। अघि भेटमा कमलाले पनि 'के भो तिम्लाई? आज खुशी देखिन्छौ नि?' सोध्दै थिई। मनमनै हिजोको घटना सम्झेँ।
'मम्मी आज त भात मीठो छ त! अर्कै चामल हो र?' छोरीले सोध्दै मीठो मानेर खाना खाइदिई।
मैले 'होहो, महँगो चामल किनेको यो पालि' भनेँ।
इँटाभट्टाको कामबाट फर्केर श्रीमानले पनि 'आज भातको स्वाद अर्कै छ त!' भन्दै मीठो मानेर खाए।
मैले बजार जाँदा मिलबाट अलिकति राम्रो खालको चामलको कनिका किनेर ल्याएको थिएँ। त्यसलाई हामीले खाँदै आएको सस्तो चामलमा मिसाएँ र पकाएँ। भात साँच्चिकै मीठो स्वादको बन्यो। हरर वासना पनि आयो। छोरी र श्रीमानलाई पनि मीठो लाग्यो। भएको जम्मा त्यत्ति थियो। मैले मनमनै हिसाब पनि लाएँ। त्यसो गर्दा मासिक १ हजार रुपैयाँ वचत हुने पनि देखियो। मेरो खुशीको स्रोत भन्नु नै त्यत्ति थियो।
यसरी जाबो टुक्रेको/भाँचिएको चामलको दानाले मलाई सग्लो खुशी दिलाएको थियो। सायद जिन्दगी यस्तै पो हो कि?
सोच्छु, ‘चामलमा मात्रै ध्यान दिँदा हाम्रा कयौं कनिका खुशीहरू छुटी पो गए हुन् कि?’
प्रकाशित: २७ भाद्र २०८३ १२:५१ शनिबार





