२७ भाद्र २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सात वर्षपछि भारत पुगे राष्ट्रपति सी : राज्यमन्त्रीद्वारा स्वागत, आजै मोदीसँग भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका छन्।

उनलाई भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन्। सीले आज बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सन् २०२० को गलवान झडपपछि सीको यो पहिलो भारत भ्रमण हो।

सन् २०१९ मा मामल्लापुरममा मोदीसँग भएको अनौपचारिक भेटपछि उनी पहिलो पटक भारत पुगेका हुन्। दुई नेताबिचको भेटलाई भारत-चीन सम्बन्ध सुधारको प्रयासका रूपमा पनि हेरिएको छ।

मोदीसँगको भेटमा भारत-चीन सम्बन्ध, सीमा क्षेत्रमा शान्ति र स्थिरता तथा दुई देशबिचको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समय तनाव रहेपछि दुवै देशले सम्बन्ध सुधारका लागि संवाद अघि बढाउँदै आएका छन्।

सीले ब्रिक्स शिखर सम्मेलनमा विश्वव्यापी दक्षिणका देशबिच सहकार्य बढाउने विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। ब्रिक्स सम्मेलनमा व्यापार, लगानी र विश्वव्यापी मुद्दासहित उदीयमान तथा विकासशील देशबिच सहकार्यका विषयमा छलफल हुँदैछ।

सीको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य काई क्वी र चिनियाँ विदेशमन्त्री वाङ यी पनि छन्। 

भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीनले दुई नेताको रणनीतिक मार्गदर्शनअनुसार भारतसँग सञ्चार र सहकार्य बढाउन तथा मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्न चाहेको बताएका छन्।

प्रकाशित: २७ भाद्र २०८३ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App