२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

छिनभरकी ‘नेवार्नी’ जुनीभरको सम्झना

पहिचान

भक्तपुर यसै पनि सुन्दर सहर। साँघुरा गल्लीमा भेटिने फराकिला मन। काठका झ्याल, टुँडालमा कुँदिएका आकृति।  मन्दिरका घन्टी र जिउँदो संस्कृतिले भरिएको यो सहर बिहान र साँझ आफ्नै रङमा चम्किरहन्छ।  

बिदाको दिन त यो सहरमा झनै रौकन छाउँछ। कतै धिमे बाजा बजिरहेको हुन्छ त कतैकतै जुजु धौको महक भेटिन्छ। कतै विदेशी पर्यटकहरू पुराना गल्लीमा हराइरहेका हुन्छन्, त कतै नयाँ पिँढीका मानिस टिकटक बनाइरहेका हुन्छन्।

यही भिड र रङबिच अचानक हाकुपटासी लगाएका युवतीहरूको एउटा हुल आँखामा पर्‍यो। कालो सारीमा रातो किनार, कानमा झुम्का, निधारमा टीका र अनुहारमा छुट्टै उत्साह। उनीहरू हिँड्दा लाग्थ्यो -भक्तपुर आफैं मुस्कुराइरहेको छ।

पहिलो नजरमै लाग्यो, उनीहरू स्थानीय नेवार समुदायका चेली हुन्। उनीहरूको चाल, हाँसो र पहिरन यति स्वाभाविक देखिन्थ्यो कि कसैले पनि बाहिरबाट आएका हुन् भनेर अनुमान गर्न सक्दैनथ्यो। दरबार क्षेत्रका सिँढीमा उभिएर उनीहरू फोटो खिचिरहेका थिए। कतै मन्दिरको पृष्ठभूमिमा, कतै झ्यालैझ्याल भएको पुरानो घर अगाडि। पर्यटकहरू पनि उनीहरूलाई हेरेर मुस्कुराइरहेका थिए।

तस्बिर खिचिसकेपछि जिज्ञासावश नाम सोधियो। अनि बल्ल थाहा भयो - उनीहरू सबै गैरनेवार समुदायका युवती रहेछन्।

‘हामी बुटवलबाट घुम्न आएका हौं,’ सवनम लोहारले हाँस्दै भनिन्, ‘यहाँ आएपछि धेरै जनाले हाकुपटासी लगाएको देख्यौं। एकपटक हामी पनि लगाऊँ भनेर रहर लाग्यो।’

उनको स्वरमा केवल घुमफिरको उत्साह थिएन, एउटा संस्कृतिलाई छामेको आनन्द पनि मिसिएको थियो।

सवनमसँगै रहेका सुषमा बगाले, विपना अधिकारी, निशा मगर र मनिषा राना पनि उत्तिकै उत्साहित देखिन्थे। उनीहरू एकअर्काको फोटो खिच्दै, कहिले गल्लीमा हिँड्दै त कहिले पुराना ढुंगेधारामा अडिएर रमाइरहेका थिए।

‘यो पोसाक लगाउँदा एकदम फरक अनुभूति भयो,’ सुषमा बगालेले भनिन्, ‘हामी केही समयका लागि यहींका मान्छे भयौं।’

नेवारी महिलाहरूको परम्परागत पोसाक हाकुपटासी केवल कपडा मात्र होइन, एउटा सभ्यता हो। ‘हाकु’ अर्थात् कालो र ‘पटासी’ अर्थात् किनार भएको सारी। कालो रङको सारीमा रातो किनार मिसिँदा त्यो सौन्दर्य मात्र होइन, नेवार समुदायको इतिहास र पहिचान पनि बोकेको हुन्छ। भक्तपुरमा हाकुपटासी अझ विशेष मानिन्छ। यहाँका गल्ली र पुराना घरबिच यो पहिरन यति स्वाभाविक देखिन्छ कि यो सहरकै एक हिस्सा भएझैं लाग्छ।

पछिल्लो समय भक्तपुर घुम्न आउने गैरनेवार युवतीहरूमा पनि हाकुपटासी लगाएर फोटो खिच्ने चलन बढेको छ। कसैले यसलाई सांस्कृतिक अनुभव मान्छन्, कसैले सम्झनाको रूपमा जोगाउँछन्। धेरैका लागि भने यो केवल पोसाक होइन, एउटा भावनात्मक अनुभव बनेको छ। सवनमहरूका लागि पनि त्यो अनुभव त्यस्तै थियो।

‘हामीले त नेवार्नी आमाहरूसँग बसेर फोटो पनि खिच्यौं,’ विपना अधिकारीले हाँस्दै भनिन्, ‘उहाँहरूले हामीलाई छोरीजस्तै व्यवहार गर्नुभयो। खाजा खान घरमै आऊ भन्नुभयो।’

त्यो क्षण सम्झँदा उनीहरूको अनुहार झन् उज्यालो बनिरहेको थियो।

भक्तपुरको विशेषता केवल मन्दिर र दरबारमा सीमित छैन। यहाँका मानिसहरूको व्यवहारले पनि यो सहरलाई अलग बनाउँछ।

पुराना सहरहरूमा प्रायः मानिसहरू आफ्नै काममा व्यस्त हुन्छन् भन्ने धारणा हुन्छ तर भक्तपुरमा भने अझै पनि गल्लीमा हिँड्दा अपरिचित मानिसले मुस्कुराएर हेर्छन्। बुढापाकाहरू झ्यालबाट चियाउँदै बसिरहेका हुन्छन्। बच्चाहरू आँगनमा खेलिरहेका हुन्छन्। यही आत्मीयताले बाहिरबाट आएका मानिसलाई पनि यहाँसँग जोडिदिन्छ।

‘हामीलाई आफ्नै घरजस्तो लाग्यो,’ विपना अधिकारीले भनिन्, ‘भक्तपुर घुम्न मात्र आएका थियौं तर यहाँको व्यवहारले हामीलाई आफन्तजस्तै बनायो।’

हाकुपटासी लगाएर फोटो खिच्नु एउटा सामान्य पर्यटकीय गतिविधि हुन सक्छ तर जब स्थानीय आमाहरूले ‘छोरी’ भनेर बोलाउँछन्, त्यो अनुभव केवल फोटोमा सीमित रहँदैन, मनभित्र बस्छ।

नेपालका धेरै पर्यटकीय ठाउँमा मानिसहरू घुम्न जान्छन्, फोटो खिच्छन् र फर्किन्छन् तर भक्तपुरको अनुभव अलि फरक हुन्छ। यहाँ मानिस केवल दृश्य हेर्न आउँदैनन्, एउटा जीवित संस्कृतिभित्र केही समय बाँच्न आउँछन्।

हाकुपटासी लगाएर गल्लीमा हिँड्दा ती युवतीहरूले सायद पहिलो पटक बुझिरहेका थिए– संस्कृति किताबमा पढिने कुरा मात्र होइन, शरीरले महसुस गर्ने अनुभव पनि हो।

कुनै समय नेवार समुदायका महिलाहरूको दैनिक जीवनसँग जोडिएको यो पहिरन आज विभिन्न समुदायका युवतीहरूको आकर्षण बनेको छ। यसले एउटा सकारात्मक सन्देश पनि दिन्छ। संस्कृति बाँडिँदा झन् सुन्दर बन्छ।

‘हामी एक छिन नेवार्नी भएर बाँच्यौं,’ हाकुपटासीमा सजिएकी  विपना अधिकारीले भनिन्। साँच्चै, उनीहरू जन्मले नेवार थिएनन्। उनीहरूको भाषा, समुदाय र भूगोल फरक थियो तर केही घण्टाका लागि उनीहरूले नेवारी संस्कृतिलाई शरीरमा ओढे, मनमा महसुस गरे। युवतीहरू केही घण्टाका लागि ‘नेवार्नी’ बनेर रमाइरहेका थिए।

प्रकाशित: २६ वैशाख २०८३ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App