हुन त चलचित्रहरू काल्पनिक नै हुन्छन् । दर्शकलाई कल्पनाको दुनियाँमा पुर्याउन निर्माता टोली र कलाकारको सतप्रतिशत मेहनत हुन्छ । यो मेहनत दर्शकले फिल्म हेरेपछि कति कामयावी भयो भन्ने निर्क्यौल हुन्छ ।
हुन पनि वास्तविक घटनामा आधारित कथालाई दर्शकले छिट्टो बुझ्छन्, प्रतिक्रिया आउँछ । तर काल्पनिक अनि आम मानिसले परिकल्पना नगरेको विषयलाई भने दर्शकले हत्तपत्त बुझ्दैनन् । तर बुझेपछि कलाकार र निर्माण पक्षको भूमिकाको तारिफ गर्छन् । यही दोस्रो भूमिकामा तयार भएको थामा डर, रोमान्स, प्रेम, करुणा र सामाजिक रुपान्तरणको विषयमा तयार भएको छ ।
अर्थात फिल्ममा मानिसहरूले परिकल्पना नगरेको मानिस र पिसाचको प्रेमलाई जोडेर फिल्म अवधिभर डराउँदै हास्नुपर्ने अवस्था छ । अनि हाँस्दाहाँस्दै आत्तिनुपर्ने कथा छ ।
कसको भूमिका कस्तो
आयुष्मान खुराना
(आलोकको नामबाट अभिनय गर्छन् । पत्रकारको भूमिकाको आलोक दुर्घटनामा ज्यान गुमाउँछ । अनि पिसाच बन्छ । यही सेरोफेरोको अभिनय छ ।)
रश्मिका मन्डन्ना
(ताडका नाममा रहेकी उनले पिसाच भएर भूमिका निर्वाह गरेकी छन् । उनैको भूमिकाले बेलाबेला दर्शक आत्तिनुपर्छ ।)
परेश रावल पत्रकार आलोकको बुबाको भूमिकामा छन् । नवाजुद्दीन सिद्दीकी यक्षासन थामाको नाममा श्रापित पिसाचको भूमिकामा देखिन्छ । फैसल मलिक, रचित सिंह, गीता अग्रवालको भूमिका पनि दमदार देखिन्छ ।
दिनेश विजन र अमर कौशिक निर्माता रहेको फिल्मलाई आदित्य सरपोतदारले निर्देशन गरेका छन् । सहनिर्माता शारदा कार्की जलोटा, पूजा प्रेम पाठेजा छन् भने फिल्मको कथा निरेन भट्ट, सुरेश म्याथ्यू, अरुण फुलाराले संयुक्त रुपमा लेखेका हुन् ।
कस्तो छ फिल्म ?
थामा एक असाधारण प्रेम कथा हो । जसमा डर, रोमान्स, एक्सन र कमेडी समेटिएको छ । मानवमानवबिचको प्रेम सम्बन्ध सबैले महसुस गर्ने विषय नै हो । हामीले आत्मसाथ पनि गरेकै हो तर यो फिल्मले अर्को परिस्थितिलाई पनि उजागर गराउन खोजेको छ । मानिस र पिसाचबिचको प्रेम सम्बन्ध । सोच्नुहोस् त! पुरुष र एक पिशाचिनी (भ्याम्पायर)प्रेम सम्बन्धमा बाँधिए भने के होला ? एक अलग्गै संसारको असामान्य मानिस जुन हाम्रो संसारमा आए के होला? यसैको सेरोफेरोमा थामाले दुई घण्टा २९ मिनेट व्यतित भएको छ ।
पटकथा
कथाको सुरुवात चलचित्रमा मुख्य पात्रमा रहेका दिल्लीका पत्रकार आलोक (आयुषमान खुराना) ट्रेकिङ्ग जाँदा भालुको आक्रमणमा पर्छन् । भालुको आक्रमणबाट जोगिन उनी घना जंगल पुग्छन र फस्छन्। त्यही भालुबाट आलोकलाई बचाउन ताडका (रश्मिका मन्डना) आइपुग्छिन । दुईको भेट घना जंगलमै हुन्छ । हेर्दा सामान्य देखिने ताडका असामान्य हुन्छिन्। मानिसको रुप धारण गरेकी ‘भ्याम्पायर’ जानवरको रगत खानेबाहेक अरु केही खान जान्दिँनन् ।
यो दृश्यसँगै जोडिन्छ श्रापित यक्षासन थामा । नवाजुद्दिन सिद्दीकीले निभाएको यो भूमिका ‘भ्याम्पायर’का मुखिया वर्षौंदेखि कैदमा राखिएका हुन्छन्।
आलोकलाई भ्याम्पायरबाट जोगाउन ताडका आफ्नो जङ्गलको संसार छोडेर, आलोककै घर आइपुग्छिन्। भ्याम्पायर समुदायले आफ्ना लागि बनाएका नियम ताडकाले तोडेपछि यी दुईजनाले कयौं प्रकारको समस्या बेहोर्नुपर्छ । यस्तो आलोकले आफ्नो ज्यानै गुमाउँछन् । ज्यान गुमाएका आलोक फेरि कसरी परिवारसम्म फर्किन्छन् त्यो कथाको रोचक विषय छ ।
वर्षौंदेखि भ्याम्पायरका मुखिया थामा किन कैदमा हुन्छन् ? मान्छेको रगत खाने भ्याम्पायर जानवरको रगत खानतिर किन लाग्छन् ? अभिनेता वरुण धवन कुन भूमिकामा कस्तो बनेर थामाभित्र अटाएका छन् यो भने तपाईंले फिल्म हेरेपछिमात्र थाहा पाउनुहुनेछ ।
अभिनय
चलचित्रमा आयुष्मानको अभिनय प्रशंसनीय छ। तर रश्मिकाको ओबर एक्टिङले सन्तुलन बिगारेको महसुस हुन्छ। त्यसैगरी नवाजुद्दिनले दर्शकलाई हँसाउने कि डराउने अन्यौलताका बिच समय बिताएको जस्तो लाग्छ । आलोकको बुवा र आमाको भूमिकाका परेश रावल र गीता अग्रवालको अभिनयले दर्शकलाई खिचेर राख्छ ।
प्राविधिक पक्ष
१५० करोड लागतको यो चलचित्र प्राविधिक रूपमा धेरै राम्रो छ। तर अझै राम्रो गर्न सकिने आधार पनि देखिन्छ । यो मनोरञ्जनात्मक, दृश्यात्मक रूपमा आकर्षक छ। चलचित्रमा बीएफएक्सको राम्रो प्रयोग देखिएको छ। चलचित्रमा कथा, कथन, लय र गतिमा तालमेल नभएको देखिन्छ । कथा अगाडि बढ्दै जाँदा, धेरै भावनात्मक धड्कन अचानक वा गलत ठाउँमा महसुस हुन्छन् । भावनामा डुबेका दर्शक त्रासले आत्तिनुपर्ने अवस्था आउँछ ।
फिल्ममा भद्दा जस्तो लाग्ने चाहिँ कथा र संगीतको तालमेल नहुनु हो । जहाँ धेरै गीत कथासँग नमिलेर अनावश्यक महसुस हुन्छन्। यी जबरजस्ती संगीत दृश्यले प्रवाहलाई बाधा पुर्याएको देखिन्छ । अनि फिल्म पनि अनावश्क लामो भएको महसुस हुन्छ ।
निर्देशन र पटकथा:
आदित्य सरपोतदारले चलचित्रलाई भव्य दृश्य अनुभव बनाउन खोजिरहेका हुन सक्छन् । तर सेट र छायांकनमा मात्र भर परेर उनले कथालाई पूर्ण रूपमा बेवास्ता गरेको भान हुन्छ। जंगल र भ्याम्पायरको संसार सुन्दर छ । प्रेम कथा सुन्दर छ । तर कथा सारको अभाव छ। फिल्मको स्वर पूर्ण रूपमा अस्थिर छ। एउटा दृश्यमा डरलाग्दो, अर्को दृश्यमा हल्का कमेडी, जसले दर्शकलाई हाँस्ने कि डराउने भनेर अनिश्चित बनाउँछ। अन्तराल पछि पटकथा पूर्ण रूपमा टुक्रिन्छ ।
धेरै दृश्य केवल देखाउन राखिएको छ । जसले उचित सन्देश नदिए झै लाग्छ । यस्ता दृश्यले कथालाई कमजोर बनाउँछ र अनि दर्शकलाई पट्यार लाग्दो ।
फिल्मको समग्र पक्षलाई केलाउँदा केही कमजोरी भए पनि मनोरञ्जनात्मक हिसाबले फिल्म राम्रो छ। तपाईं हलमा पुगेर साढे दुई घण्टा बिताउन असहज हुँदैन ।
प्रकाशित: १० कार्तिक २०८२ १६:५३ सोमबार





